कैलाली – जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्लाको वेदकोट नगरपालिका- १ हात्तीथला बस्ने ६९ वर्षीया वृद्धा हिरादेवी धानुकको हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो।
घाँस दाउरा ल्याउन घर नजिकैको बैजनाथ मध्यवर्ती सामुदायिक वनमा गएका बेला मंगलबार हात्तीको आक्रमणमा परी धानुकको घटनास्थलमै मृत्यु भएको थियो।
अबेर साँझसम्म पनि जङ्गलबाट घर नफर्किएपछि खोजी गर्दै जाँदा सामुदायिक वनकै कार्यालय नजिक धानुकको शव फेला परेको प्रहरीले जनाएको छ।