भरतपुर । गृहमन्त्री रवि लामिछानेले अपराध नियन्त्रणमा राजनीतिक पार्टीको प्रभाव पर्न नदिने बताउनुभएको छ । भरतपुर विमानस्थलमा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उहाँले अपराध नियन्त्रण गर्न कडा निर्देशन दिनुभयो ।
“अपराध अनुसन्धानमा कुनै पनि राजनैतिक दलको दवावमा नपर्न प्रहरीलाई भनिसकेको छु । कुनै पनि राजनैतिक दलले अपराध अनुसन्धानमा अवरोध पु¥याउने मेरो मान्छे छोडिदेउ भन्ने कुरा अव सुन्नु पर्दैन”, उहाँको स्पष्ट भनाइ थियो, “यदि कसैले त्यस्तो भनेको प्रमाण ल्याउनुभयो भने सिफारिस गर्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याइनेछ ।”
आफू सभापति भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई त अझै निर्मम भएर कारवाही गर्न प्रहरीलाई भनेको पनि उहाँले जनाउनुभयो ।
“अपराधसँग सम्बन्धित छानविनमा हाम्रो दलको मान्छे छ, हाम्रो दलको गृहमन्त्री छ भनेर कसैले प्रभावमा नलिनु होला । लिन खोज्नुभयो भने निर्मम तरिकाले कारवाही गर्नुस भनेर प्रमुख जिल्ला अधिकारीलाई भनिसकेको छु ।”

उहाँले प्रहरीहरुलाई उच्च मनोवलका साथ काम गर्न निर्देशन दिनुभयो । “आदेश हैन कानुन पालना गर्नुहोस् भनेर भनिसकेको छु”, उहाँले भन्नुभयो ।
“एक एक समस्या समाधान गरेका छौ । म गृह मन्त्री भए यता समस्या लिएर गृह मन्त्रालय आउनुभएका दुई सय भन्दा बढीको समस्या दुई मिनेट भन्दा बढी समय नलाएर समाधान गरेको छु”, उहाँले भन्नुभयो ।
अहिले गृह मन्त्रालयले सिङ्गो देशले मनन गर्ने गरी काम गरिरहेको दावी पनि उहाँले गर्नुभयो । “सिङ्गो देशमा कुनै पनि नागरिकलाई आपत पर्दा समस्या समाधान गर्ने काम गरेको छु”, उहाँले भन्नुभयो ।
गृहमन्त्री लामिछाने चितवनमा हुने विभिन्न कार्यक्रममा सम्वोधन गर्न चितवन आउनुभएको हो ।


