पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा भुटानको पारो एफसीलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
थ्रीस्टारको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ औं मिनेटमा पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् । पारोका किपर जाङ्पोले बल रोक्ने प्रयासमा थिए । तर, उनलाई कुनै अवसर नै दिएनन्, र बललाई जाली चुमाए । अतिरिक्त समयको २९ औं मिनेटमा पनि उनै चापागाईंले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले विपक्षी गोलरक्षक जाङ्पो बल सुरक्षित गर्न अगाडि बढेको मौकामा बिना कुनै गल्ती त्यसलाई गोलमा परिणत गरे ।
उनले दोस्रो गोलमध्ये भागबाट प्रहार गर्दै खाली पोस्टमा आरामले गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा आशिषले निर्धारित समयभित्रै पटकपटक गोल गर्ने अवसर पाएका थिए । तर, सफल भइरहेका थिएनन् । उनीसँगै आदित्य शाक्य र दीपेश आलेमगरले पटकपटक गोल गर्ने अवसर पाएका थिए ।
पाएको मौकालाई सदुपयोग गर्न नसक्दा जितका लागि अतिरिक्त समय पर्खिनुपर्यो । निर्धारित खेल गोलरसहित बराबरीमा टुंगिएपछि अतिरिक्त ३० मिनेट थप गरिएको थियो । थ्रीस्टार प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको थियो । आमन्त्रित भुटानी लिग विजेता टिम पारो एफसी बाइ पाउँदै सिधै अन्तिम ८ मा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा पारो पहिलो पटक सहभागी भएको थियो । थ्रीस्टार आहाराराको उपाधि पाँचौं पल्ट जितिसकेको छ । अब सेमिफाइनलमा थ्रीस्टारले माघ १७ गते जावलाखेल र मनाङ मर्स्याङ्दीबाट विजेता एकजनासँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ । २३ औं आहारारा पोखरा गोल्डकपमा दोस्रो क्वार्टरफाइनल अन्तर्गत खेल भोलि डिफेन्डिङ च्याम्पियन संकटा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

