काठमाडौं । गृह मन्त्रालयले सुकुम्बासी व्यवस्थापनका लागि प्रक्रिया पुर्याएर आउन काठमाडौं महानगरपालिकालाई सुझाव दिएको छ । सहरी सौन्दर्यीकरणमा असर परेको तथा अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिले आग्रह गरेको भन्दै काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो ।
मंसिर १३ गते काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर लिएर जाँदा २ पक्षबीच झडप हुँदा ३0 भन्दा बढी नगर प्रहरी घाइते भएका थिए ।
त्यसबेला प्रहरी प्रशासनले सहयोग नगरेको गुनासो गरेको काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन सहयोग माग्दै गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।
सोही पत्रको जवाफमा मन्त्रालयले महानगरलाई प्रक्रिया पुर्याएर आउन भनेको हो। गृहले सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्ड अनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालय सकारात्मक रहेको जनाएको छ ।


