काठमाडौं । यही मंसिर ४ गते भएको निर्वाचनको मतगणना आज सकिने सम्भावना छ । निर्वाचन आयोगले आज मतगणना सकिने जनाएको छ ।
प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको हो । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सबैभन्दा धेरै मत पाएको छ । त्यसपछि क्रमशः नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी छन् । यी पार्टीको राष्ट्रिय मान्यता प्राप्त दल बन्न आवश्यक मत संख्या पुगेको छ । अरू पार्टी राष्ट्रिय दल नबन्ने देखिन्छ ।
अहिलेसम्मको अवस्थामा राष्ट्रिय दल नबन्नेमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), रेशम चौधरीकी पत्नी रन्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लगायत छन् ।
यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), लौरो अभियानको हाम्रो नेपाली पार्टी, राष्ट्रिय जनमोर्चा, कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि राष्ट्रिय दल बन्दैनन् । यीमध्ये नेमकिपाले ७५ हजार ७९ मत पाएको छ । हाम्रो नेपाली पार्टीले ५५ हजार ६३२ मत ल्याएको छ ।
सत्ता गठबन्धनमा आबद्ध चित्रबहादुर केसी नेतृत्वको दल जनमोर्चाले ४६ हजार ४०४ प्राप्त गरेको छ । केही ठाउँमा एमालेसित चुनावी तालमेल गरेको राप्रपा नेपालले जम्मा १२ हजार २७४ मत ल्याएको छ । सो पार्टीका अध्यक्ष कमल थापाले एमालेको चुनाव चिह्न लिएर मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरेका थिए । उनी २५ हजार ४६० मतसहित तेस्रो स्थानमा रहे । त्यहाँबाट निर्वाचित राप्रपाका दीपकबहादुर सिंहले २७ हजार ८५१ मत पाए ।
अहिलेसम्मको मतगणनाअनुसार सात पार्टी मात्र राष्ट्रिय दल बन्नेछन् ।