काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले तिहारमा जुवा तास खेल्न/खेलाउन र पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको कारोबारमा निषेध गरेको छ ।
तिहारमा पटाका र आतिसबाजी निषेध प्रहरीले तिहारविशेष ११ बुँदे अनुरोध सार्वजनिक गर्दै चाडवाडका बेला बहुमूल्य सामान बोकेर भिडभाडमा नजान र घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गर्न आग्रह गरेको छ ।
प्रहरीले भनेको छ- ‘यहाँहरु ढुक्कले चाडपर्व मनाउनुहोस्, तपाईहरुको सुरक्षामा प्रहरी छँदैछ नि ।’ प्रहरीले नागरिकको सुरक्षामा प्रहरी हरबखत् खटिरहेको भएपनि आफ्नो सुरक्षामा सबैभन्दा पहिले आफैँ सचेत हुनसके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ । साथै चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत् निगरानी बढाएको जनाइएको छ ।
मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान समेत प्रहरीको आग्रह छ । त्यस्दै, नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ/छैन यकीन गर्न तथा सकेसम्म साइरन जडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै, लामो समय घर वा पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको छ ।


