काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको बैठकको साक्षी बस्नुले बदनामीमात्रै हुने बताएका छन् ।
उच्चस्तरीय समिति गठनलाई अन्तिम रुप दिने दाबी गरिएको बैठक मंगलवार नबसेपछि लामिछानेले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । ‘आज प्रमुख दलका शीर्ष नेताको बैठक बस्ने भनिएको थियो । तर केपी ओलीजी अस्वस्थ भएर आउनुभएन’ लामिछानेले भने, ‘शीर्ष नेताको बैठकको साक्षी बस्नु बदनाम मात्रै हुनु हो ।’
दलको बैठक बुधवार ११ बजेलाई सारिएपछि रास्वपाले सहभागिता नजनाउने संकेत उनले गरे । ‘भोलिको बैठक सहभागी हुने वा नहुनेबारे सल्लाह गर्छौ । किनकि हिजो राति सहमति भइसकेको सानो कुरालाई लम्बेतान गर्न जरुरी थिएन’ रविले भने, ‘यसैले प्रमुख दलसँग साक्षीमात्रै बस्ने कुरा अब उचित हुँदैन ।’
सोमवार मध्यराति संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठकले सुन काण्डसहितका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । तर कार्यदलले ड्राफ्ट बनाएर बुझाए पनि मुख्य दलको बैठक मंगलवार नबसेको हो ।