काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिट निवेदन संयुक्त इजलासमा तोकेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासको दोस्रो नम्बरमा कार्कीको रिट पेसीमा चढेको हो । सरकारले १८ कात्तिकमा कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा पदस्थापन गरेको थियो ।
एआईजी मनोज केसीलाई आईजीपी नियुक्त गरेको थियो । आफूलाई कानुनविपरित अन्यायपूर्वक हटाएको भन्दै कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका हुन् ।
कार्कीको रिटमा मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । साथै रिटलाई अग्राधिकार दिँदै आजलाई पेसी तोकेको थियो ।
अन्तरिम आदेश दिने सम्बन्धमा दुबै पक्षलाई छलफलमा बोलाएको थियो । तर आईजीपी मनोज केसीले म्याद तामेल नगरेपछि ७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी स्थगित भएको थियो । आज कार्कीको रिटमा सुनुवाइ भएमा अन्तरिम आदेश दिने वा नदिने निर्णय हुनेछ ।

