काठमाडौँ, मङ्सिर ७ गते । नेपाल र भारतबिच वार्षिक रूपमा सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को २० औँ संस्करणमा सहभागी हुन भारतीय सैनिक टोली नेपाल आइपुगेको छ ।
भारतीय सेनाको टोली आइतबार रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुल पुगेको नेपाली सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार वि.सं. २०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी सञ्चालन हुँदै आएको उक्त संयुक्त अभ्यास मङ्सिर ९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ । अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाको ज्वालादल गण सहभागी हुनेछन् ।
संयुक्त सैनिक अभ्यासमार्फत दुई देशका सेनाबिच आपसी समन्वय, अनुभव आदानप्रदान, व्यावसायिक क्षमता अभिवृद्धि तथा संयुक्त रूपमा काम गर्ने दक्षता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको नेपाली सेनाले जनाइएको छ ।
नेपाल र भारतबिचको सैनिक सम्बन्धलाई संस्थागत रूपमा थप सुदृढ बनाउने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको सूर्य किरण संयुक्त सैनिक अभ्यासको यस संस्करणमा दुवै देशका सैनिक टोलीले सहभागिता जनाउने पनि नेपाली सेनाले जनाइएको छ।

