काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने, व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने र नेपालमा लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको हो ।
सो अवसरमा मन्त्री साहले भोटेकोशी तथा बुढीगण्डकी क्षेत्रमा आएको बाढीका बेला अस्ट्रेलिया सरकारले नेपाललाई उपलब्ध गराएको मानवीय सहयोगप्रति आभार व्यक्त गरे । विपद्का समयमा अस्ट्रेलियाले देखाएको सद्भाव र समर्थनको प्रशंसा गर्दै उनले धन्यवादसमेत दिएका थिए ।
भेटमा आगामी दिनमा दुई देशबीच व्यापारिक गतिविधि विस्तार, आर्थिक साझेदारी अभिवृद्धि तथा पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको थियो ।
नेपाल र अस्ट्रेलियाबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउँदै व्यापार, लगानी र आर्थिक सहकार्यका नयाँ सम्भावनालाई अघि बढाउने विषयमा भेटवार्ता सकारात्मक रहेको उद्योगमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।


