काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सम्भावित विपद्को जोखिम न्यूनीकरण र जनधनको सुरक्षा गर्न सबै पक्षसँग सहकार्यको अपिल गरेका छन् ।
उनले वर्षा, सम्भावित हावाहुरी र त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको जनाएका छन् । सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै महानिरीक्षक कार्कीले विपद्बाट जनधनको सुरक्षा गर्न नेपाल प्रहरी आफ्नो मूल दायित्व पूरा गर्दै क्रियाशील रहने उल्लेख गरेका छन् ।
उनले विपद्का बेला नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने जनाएका छन् । नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गरेको उल्लेख गर्दै उनले सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुग्ने वातावरण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।
‘सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ,’ उनको अपिलमा भनिएको छ । उनले विपद्को असर कम गर्न सबैसँग अभूतपूर्व सहकार्यको अपेक्षा गरेका छन् ।


