काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा हुने भएकाे छ ।
देउवा पक्षले यही २१–२३ मंसिरका लागि निर्धारण तय गरेकाले महाधिवेशन खुलामञ्चमा हुन लागेकाे हाे ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी गराए ।
उनले जनाए अनुसार महाधिवेशन गर्नका लागि देउवा पक्षले खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरेको छ ।
निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमा गरिने छ । यस्तै राष्ट्रियसभामा पदाधिकारी चयनका लागि मतदान हुने छ ।
भृकुटीमण्डप महाधिवेशन प्रतिनिधिहरूलाई खानाको ब्यवस्थाका लागि बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी गराए । १५ असोजबाट वडा अधिवेशन सुरु गरेको देउवा समूहले १५ कात्तिकमा जिल्ला अधिवेशन तोकेको छ ।


