काठमाडौं । जीबी राईले ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी आफूले लिने जनाएका छन्। गोरखा मिडिया नेटवर्कको अध्यक्षको हैसियतले आर्थिक स्रोत व्यवस्थापनको जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै उनले यसमा अन्य सञ्चालकको संलग्नता नरहेको जनाएका छन्।
‘ग्यालेक्सी टिभीमा सहकारीबाट गएको सम्पूर्ण रकमको जिम्मेवारी अध्यक्षको हैसियतले मेरो नै जिम्मेवारीभित्र पर्छ,’ उनले भनेका छन्, ‘गोरखा मिडिया नेटवर्क मेरो हो, म सम्बन्धित सहकारीसँगको जिम्मेवारी पनि मेरो हो, अरू कसैको होइन, समाधानको जिम्मेवारी पनि मेरो हो।’
विज्ञप्तिमा राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीलाई यस विषयसँग जोड्नु उचित नभएको जिकिर गरेका छन्। कर्मचारी वा अन्य व्यक्तिको नाम तथा कागजात अभिलेख राख्ने क्रममा दुरुपयोग भएको हुन सक्ने भन्दै उनले त्यस विषयमा अरूलाई अनावश्यक रूपमा जोड्न नहुने उनको धारणा छ।
सहकारीसँग सम्बन्धित पूर्व तथा वर्तमान सञ्चालक, कर्मचारी र शुभचिन्तकहरू आफूले नगरेको कामका कारण पीडित भएको भए उनीहरूसँग राईले क्षमायाचना पनि गरेका छन्।


