काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्य प्रणाली, प्रजातान्त्रिक आधार र अर्थतन्त्रलाई उकास्नेगरी काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
विजय दशमीको अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नवपुस्ताले नेतृत्व गरेको सरकारले देशवासीको मुहार हँसिलो पार्ने विश्वाससमेत गरेका छन् ।
उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ पार्न जरुरी रहेको पनि औल्याएका छन् । उनले बालेन सत्तालाई जोश जाँगर बोकेर राज्य सञ्चालनमा खडा भएको नवपुस्ता भनेका छन् ।
‘यतिखेर हाम्रो देश किन अस्तव्यस्त स्थितिमा रहेको छ ? हाम्रो राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक एवं व्यावसायिक क्षेत्र अन्योल र अलमलको अवस्थामा किन देखिन्छ ? हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ,’ शाहले प्रश्न उठाउँदै भनेका छन्, ‘यी सबैलाई सच्याएर, मिलाएर, प्रजातान्त्रिक विधि प्रक्रियालाई सुदृढ पार्दै विद्यमान विश्व परिवेश र भूराजनीतिको स्थितिमा हाम्रो राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ पार्नु जरुरी छ । जोश जाँगर बोकेर राज्य सञ्चालनमा खडा भएको नवपुस्ताले देशवासीको मुहार हाँसलो रसिलो पार्छ भन्ने अभिलाषा राखिएको छ ।’
नेपाल केवल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र चिनारी भएको स्पष्ट पार्दै संकटका वेला एक-अर्कामा भाइचारा कायम राख्नु नै साँचो देशभक्ति भएको सन्देशमा भनिएको छ। सन्देशमा भनिएको छ, ‘विभाजित होइन, एकतावद्ध नेपाल, परनिर्भर होइन आत्मनिर्भर नेपाल, कमजोर होइन सवल र सक्षम नेपाल निर्माण गर्ने सोच हामी सबैमा जागृत होस्।’ उनले दशैँको अवसरमा नवदुर्गा भवानीले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने सत्बुद्धि प्रदान गरुन् भन्दै सबैलाई शुभकामना दिएका छन् ।
शुभकामना सन्देशमा भदौ महिनामा भोटेकोशी र असोजको अविरल वर्षाका कारण बुढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोले जनधनको ठूलो क्षति पुर्याएको प्रति दुःख व्यक्त गरिएको छ । प्राकृतिक प्रकोपबाट क्षति पुगेका भौतिक संरचनाहरूको द्रुत पुनर्निर्माण र पीडित नागरिकहरूको शीघ्र अतिशीघ्र पुनर्स्थापनालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा पूर्वराजा शाहले जोड दिएका छन् । साथै, यस्ता कार्यमा वाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्परा जोगिने गरी कूटनीतिक चातुर्यता अपनाउनुपर्ने उल्लेख छ ।


