काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाएर मतगणना भइरहेको र आवश्यकताअनुसार गणनास्थल थप गरेर आजै परिणाम सार्वजनिक गर्ने तयारी गरिएको जानकारी गराए ।
मतगणनाको परिणाम सार्वजनिक हुने क्रममा दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । उनले ४ हजार ८०३ मत प्राप्त गर्दा प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० र नरेन्द्र पासवानले ७७२ मत पाएका छन् ।
दलित महिलातर्फका पाँच केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन् । सीता मिजारले ३ हजार ४३३, शान्ति परियार (विक)ले २ हजार ९६४, रुपा विकले २ हजार ६४९, कमला नेपालीले २ हजार ५५३ र छायाँ सुनुवारले २ हजार ११२ मत प्राप्त गरेका छन् । त्यस्तै, दलित मधेसीतर्फ धर्मेन्द्र पासवान ३ हजार १०५ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
उक्त समूहमा राजकुमार पासवानले १ हजार २३३, चन्द्रेश्वर शर्मा बजबलेले ६५१, मुनेश्वर साफीले ६०६ र मानवीर रजक साफीले ३११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार अहिले मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, खुला समूह, ३५ वर्षमुनिका महिला तथा पुरुष र खुलातर्फका उम्मेदवारको मतगणना भइरहेको छ ।
संयोजक खड्काका अनुसार खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि असोज २३ गते मतदान भएको थियो । सभापति, उपसभापति र महामन्त्रीसहित प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ । सहमहामन्त्रीका विभिन्न समूह र केन्द्रीय सदस्यका लागि भएको मतगणना चरणबद्ध रूपमा भइरहेको छ ।


