काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठुलो क्षति पुर्याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गर्नुभएको छ ।
आइतबार बिहान आएको बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको घटनाप्रति थापाले दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नसमेत अनुरोध गर्नुभएको छ ।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ ।
बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।


