काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति वालेन्द्र शाहले उनलाई शुक्रबार उपकुलपति नियुक्त गरेका हुन् ।
बराल सन् १९९९ मा केयूको मेकानिकल इन्जिनियरिङका विद्यार्थी थिए । केयूमै अध्ययन गरेर विश्वविद्यालयको उच्चपद उपकुलपति नियुक्त हुने उनी पहिलो हुन् ।
शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिले उपकुलपतिका लागि कार्यविधिअनुसार दरखास्त आह्वान गर्दा ३५ जनाले आवेदन दिएका थिए । तीमध्ये १० जना संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका थिए । उनीहरुको कार्ययोजना र सोचपत्र मूल्यांकनपछि अन्तरवार्ता लिइएको थियो । जसमा बरालसहित ३ जना उपकुलपति नियुक्तिका लागि सिफारिस भएका थिए ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार प्राध्यापक बालचन्द्र लुइँटेल र राजेन्द्र जोशी पनि सिफारिस भएका थिए । तत्कालीन उपकुलपति अच्युत वाग्ले अध्यादेशमार्फत गत वैशाखमा पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया थालिएको थियो ।
नवनियुक्त उपकुलपति बरालले टोकियो विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङ विषयमा नै स्नातकोत्तर र न्युजिल्यान्डस्थित अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेको उनको व्यक्तिगत विवरणमा उल्लेख छ ।
प्राध्यापनसँगै उनी इन्धन, ऊर्जा र वातावरणीय प्रदूषणको क्षेत्रमा अनुसन्धानमा सक्रिय थिए । केयूको स्कुल अफ इन्जिनियरिङको मेकानिकल इन्जिनियरिङ विभागमा उनी कार्यरत छन । सन् २००४ मा उनी असिस्टेन्ट प्रोफेसरका रुपमा केयूमा आबद्ध भएका थिए । सन् २०१८ देखि प्राध्यापका रुपमा कार्यरत थिए ।


