एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको जनाएका हुन् ।
युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन प्रभावित भएको छ । आइतबार पनि युरोपका विभिन्न देशमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् । जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमले नयाँ रेकर्ड बनाएको र भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक गेब्रेयससले गर्मीका कारण हुने शारीरिक तनावलाई प्राय: ‘मौन हत्यारा’ (साइलेन्ट किलर) का रूपमा चिनिने उल्लेख गर्दै युरोपका घर, कार्यालय र विद्यालय यस्ता चरम तापक्रम सामना गर्न तयार नभएको जनाएका छन् ।
ती अतिरिक्त मृत्युमध्ये अधिकांश ६५ वर्ष वा सोभन्दा माथिका उमेर समूहका छन् । घरमै हुने मृत्युको संख्या पनि करिब ४० प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ ।


