वीरगञ्ज । सार्वजनिक संस्थाहरूमा लागू गरिएको डिजिटल खरिद (ई–प्रोक्योरमेन्ट) प्रणालीले भ्रष्टाचार तथा आर्थिक अनियमितता पहिचान र नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ।
Anjay Kumar Mishra र Mbonigaba Celestin द्वारा गरिएको अध्ययनमा विश्वका १३० भन्दा बढी देशका सन् २००७ देखि २०२५ सम्मका तथ्याङ्क विश्लेषण गरिएको थियो। अध्ययनले डिजिटल खरिद नियन्त्रण, आपूर्तिकर्ता सूचना व्यवस्थापन, ई–टेन्डरिङ पारदर्शिता तथा डेटा विश्लेषणमा आधारित निगरानी प्रणालीले सार्वजनिक खरिदमा हुने अनियमितता पत्ता लगाउन महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकालेको छ।
अनुसन्धान अनुसार खरिद प्रक्रियामा प्रयोग हुने आधुनिक विश्लेषणात्मक निगरानी प्रणाली (Procurement Analytics Oversight) सबैभन्दा प्रभावकारी माध्यमका रूपमा देखिएको छ। यसले शंकास्पद कारोबार, मूल्य हेरफेर, मिलेमतो तथा नक्कली आपूर्तिकर्ताको पहिचान गर्न सहज बनाउने जनाएको छ।
अध्ययनले डिजिटल प्रणालीको प्रयोग मात्र पर्याप्त नहुने उल्लेख गर्दै साइबर सुरक्षा, लेखापरीक्षण क्षमता, नियामक कार्यान्वयन तथा संस्थागत तयारी पनि उत्तिकै महत्वपूर्ण रहेको औँल्याएको छ। संस्थागत क्षमता बलियो भएका देशहरूमा ई–प्रोक्योरमेन्ट प्रणालीको प्रभाव अझ बढी देखिएको अनुसन्धानको निष्कर्ष छ।
अनुसन्धान प्रतिवेदन “E-Procurement Governance and Fraud Detection in Digitally Integrated Public Institutions” शीर्षकमा प्रकाशित भएको हो। अध्ययनले डिजिटल प्रविधि र संस्थागत सुदृढीकरणलाई सँगसँगै अगाडि बढाए सार्वजनिक खरिद प्रणालीलाई थप पारदर्शी, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउन सकिने सुझाव दिएको छ।



