काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना अध्यक्ष केपी शर्मा ओलीप्रति लक्ष्य गरी ‘बा’ मात्र समस्या नभएको जनाएकी छिन्।
आइतबार सामाजिक सञ्जालमा महासचिव शंकर पोखरेल र नेता योगेश भट्टराईको तस्बिर राखेर उनीहरूलाई ‘दाइहरू’ सम्बोधन गर्दै झाक्रीले संकटको वेलामा सामूहिक सामना गरेर अगाडि बढ्न अपिल गरेकी छिन्।
‘हर प्रकारका असामान्य परिस्थितिलाई सामना गर्दै जित्दै आउनुभएका तपाईँ दुईजना अखिलका पूर्व अध्यक्षहरू’, दुई नेतालाई उनले भनेकी छिन्, ‘यो वेला देशले तपाईँहरूलाई हेरेको छ। करिब पाँच लाख पार्टी सदस्यहरू र करीब १४ लाख यस पटक भोट हालेका मतदाताहरूले तपाईँहरूलाई नियालिरहेछन्।’
झाक्रीले समस्या अध्यक्षमा मात्र नभई अरु नेता कार्यकर्तामा पनि रहेको जिकिर गरेकी छिन्, ‘आजको यो समाजमा कसैको लागि बा समस्या हुन। तर म भन्छु बा मात्र समस्या होइन। समस्या धेरै छन भित्र र बाहिर दुवैतिर, समाजमा अनि हामी कार्यकर्तामा पनि छन्’, उनले भनेकी छिन्।
उनले एकले अर्को लाई दोष लगाएर होइन सामूहिक कमजोरी भए हाम्रा भन्ने स्वीकार गरेर अगाडि बढ्ने वातावरण बनाउन पहलकदमी लिन दुई नेतालाई आग्रह गरेकी छिन्। ‘संकटको सामूहिक सामना गर्ने हो। दाईहरू तपाईँहरू दायाँ बायाँ नगर्नुस्’, उनले भनेकी छिन्।
उनले अहिले कालरात्रि रहे पनि सूर्य उदाउने दाबी गरकी छिन्। ‘समय बलवान छ। समय कसैको नियन्त्रणमा एकैनास रहँदैन। हरेक कालरात्रि पछि नै हो सूर्य उदाउने’, उनले भनेकी छिन्।


