काठमाडौं । भिजिट भिसामा विदेश जान लागेका नेपाल एयरलाइन्सका चालक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५४ लाख ७१ हजार रुपैयाँसहित पक्राउ परेका छन् ।
सुनसरी गढी गाउँपालिका–१ घर भई हाल काठमाडौंमा बस्दै आएका कमलनारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो । विश्वास १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र (ग्राउन्ड इक्युपमेन्ट अपरेटर)मा कार्यरत थिए ।
सोमबार राति साढे ८ बजे बाटिक एयरको फ्लाइटमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने क्रममा उनको लगेज विमानस्थल प्रहरीद्वारा जाँच गर्दा फलामको कराई भित्र विभिन्न देशको मुद्रा भेटिएको हो ।
प्रहरीका अनुसार अहिलेसम्म उनी २६ पटक बाह्य मुलुलक यात्रा गरेको देखिएको छ । उनको साथबाट नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानिज, अफ्रिकन मुद्रा प्रहरीले फेला परेको हो । उनको साथबाट ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बरामद गरिएको छ ।



