काठमाडौं। आजको डिजिटल युगमा एउटै घरभित्र बस्ने बुबा र छोराबीच पनि संवाद घट्दै गएको छ। प्रविधि, वैदेशिक रोजगारी, आधुनिक जीवनशैली र बदलिँदो सोचका कारण पुस्ताबीच बढ्दो भावनात्मक दूरी विश्वव्यापी सामाजिक बहसको विषय बनिरहेका बेला निर्माणाधीन नेपाली चलचित्र ‘अधुरो धुन : समयको सारङ्गी’ ले यही संवेदनशील विषयलाई नेपाली मौलिकताको धरातलमा उभ्याएर अन्तर्राष्ट्रिय सिनेमाको भाषामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ।
Part Time Collection Films Pvt. Ltd. को ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता टिकाराम कट्टेल, एएमटी थापा र रत्ना बिष्ट हुन्। चलचित्रको कथा, पटकथा, संवाद, निर्देशन तथा शब्द/संगीत वेदप्रसाद भुर्तेलको रहेको छ। मुख्य सहायक निर्देशक नवराज शर्मा हुन् भने संगीत संयोजन फडिन्द्र राई र महाराज थापाले गरिरहेका छन्। चलचित्रको हस्पिटालिटी पार्टनर होटल डिबोटी, धनगढी–कैलाली रहेको छ। निर्माण टोलीका अनुसार अहिले चलचित्रको प्रि–प्रोडक्सन तीव्र गतिमा अघि बढिरहेको छ। गीत–संगीतको रेकर्डिङ, ब्याकग्राउन्ड स्कोर, ध्वनि डिजाइन तथा अन्य प्राविधिक तयारी समानान्तर रूपमा भइरहेका छन्। चलचित्रका गीतहरूमा लाइभ बाजाहरू प्रयोग गरिँदैछन्, जसले कृत्रिम डिजिटल ध्वनिभन्दा जीवन्त सांगीतिक अनुभूति दिने निर्माण पक्षको विश्वास छ। निर्देशक वेदप्रसाद भुर्तेलका अनुसार चलचित्रको केन्द्रमा केवल सारङ्गी वा गन्धर्व समुदायको कथा मात्र छैन।
सारङ्गी यहाँ एउटा प्रतीक हो—हराउँदै गएको संवादको, बुबाले जोगाएर राखेको संस्कृतिको, र आधुनिक संसारमा आफ्नो पहिचान खोजिरहेको नयाँ पुस्ताको। यही कारण चलचित्रले नेपाली समाजको यथार्थलाई मात्र होइन, संसारभर देखिएको पुस्तान्तरणको मनोविज्ञानलाई पनि स्पर्श गर्ने प्रयास गरेको छ। चलचित्रले नेपाली मौलिकता, गन्धर्व समुदायको सांगीतिक विरासत, मानवीय संवेदना र आधुनिक जीवनबीचको द्वन्द्वलाई एउटै कथामा गाँस्दै नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको निर्माण पक्षको दाबी छ। विशेषगरी ब्याकग्राउन्ड स्कोरलाई कथाको भावनात्मक मेरुदण्ड बनाइएको छ, जहाँ धेरै दृश्यमा शब्दभन्दा संगीतले पात्रहरूको मौन पीडा, सम्बन्ध र समयको परिवर्तनलाई अभिव्यक्त गर्नेछ। चलचित्रका मुख्य अभिनेताका रूपमा अमृत थापा अनुबन्धित भइसकेका छन्। साथै महत्त्वपूर्ण भूमिकामा राजन अयर पनि आबद्ध भएका छन्। निर्माण पक्षका अनुसार अर्का एक चर्चित मुख्य नायक र एक चर्चित नायिकासँग अन्तिम चरणको छलफल भइरहेको र सम्झौतापछि उनीहरूको नाम औपचारिक रूपमा सार्वजनिक गरिनेछ। ‘अधुरो धुन : समयको सारङ्गी’ नेपाली लोकधुनको कथा मात्र होइन, समयसँगै बदलिँदो मानव सम्बन्ध, पुस्ताबीचको दूरी र आफ्नो जरा नबिर्सन दिने चेतनाको सिनेम्याटिक यात्रा बन्ने विश्वास निर्माण टोलीले लिएको छ।


