काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका- २ खार्ताम्छा बालावेसीमा बुधबार दिउँसो सवा १२ बजेहेलिकोप्टर दुर्घटनामा२ जना घाइते भएका छन्।
एयर डाइनेष्टीको नाइन एन एएफक्यु हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार यात्रु एक जना र एक जना पाइलट घाइते भएका हुन्। पाइलट सामान्य घाइते भएका छन् भने यात्रुलाई गम्भीर चोट लागेको छ।
उनीहरू दुवै जनाको अर्को हेलिकोप्टरबाट उद्धार गरिएको वडा नम्बर २ का वडा सदस्य हरिचन्द्र राईले जानकारी दिए। ‘हेलिकोप्टर दुर्घटना भएलगत्तै दुई जनालाई अर्को हेलिकोप्टरबाट उद्धार गरिएको छ’, उनले भने।
उनकाअनुसार हेलिकोप्टर ल्याण्ड गर्ने समयमा दुर्घटनामा परेको हो। हङकङ बस्ने एक परिवारका सदस्यको मृत्यु भएपछि आफन्ती हेलिकोप्टरबाट गाउँ आएका थिए।
यद्यपि, शव भने एम्बुलेन्सबाट ल्याइँदै गरिएको राईले बताएका छन्। ‘हङकङ बस्ने एक परिवारका सदस्यको मृत्यु भएपछि आफन्ती हेलिकोप्टरमा आएका हुन्। शव भने अस्पतालबाट एम्बुलेन्समा ल्याइँदै छ’, उनले भने।
हेलिकोप्टरमा पाइलटसहित दुई जना मात्र सवार रहेको बुझिएको छ। खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले दुर्घटनाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको जानकारी दिइन्।


