काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
सोमबारसम्ममा मन्त्रिपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो।
त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको सचिव पौडेलले बताए।
उनले भने, ‘एउटा, संसदलाई सुचारु गर्नेबारेमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समीक्षात्मक छलफल भयो। दोस्रो, क्याविनेटको विस्तार बढीमा पर्सिसम्ममा गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो। तेस्रो चाहिँ सरकार र पार्टीलाई कसरी जोडने भन्नेबारेमा पनि कुरा भयो।’


