सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 2 mins read
0
भौतारिएको समाजवादको यात्रा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-खडग पाण्डे

आजकाल नेपाली समाजमा अत्यन्तै जबर्जस्त रूपमा स्थापित भएको एउटा शब्द हो- “लुसिफर”। कसैलाई खराब, दुष्ट, पापी, अधर्मी, दुर्जन, कपटी, नीच, बदमाश, अराजक वा असामाजिक भनेर चिनाउनुपर्‍यो भने सहजै उसलाई लुसिफरको संज्ञा दिने प्रवृत्ति बढ्दै गएको छ। यो शब्द अब केवल धार्मिक वा पौराणिक सन्दर्भमा सीमित रहेन; बरु राजनीतिक, सामाजिक र वैचारिक बहसमा विरोधीलाई बदनाम गर्ने सबैभन्दा सजिलो हतियार बनेको छ।

यसै प्रवृत्तिको चरम उदाहरणका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रस्तुत गर्ने गरेको देखिन्छ। उनका आलोचकहरूले उनलाई केवल आलोचनाको दायरामा राखेर छलफल गर्नुको सट्टा, मानौँ उनी नै नकारात्मक प्रतीकका रूपमा साँचो लुसिफर हुन् भन्ने जस्तो चित्रण गर्न खोजिरहेका छन्। असहमति, प्रश्न र आलोचनालाई तर्क र तथ्यको आधारमा सामना गर्न नसक्दा व्यक्तिलाई राक्षसीकरण गर्ने यो प्रवृत्तिले हाम्रो सार्वजनिक बहसको स्तर कति खस्किएको छ भन्ने कुरा स्पष्ट रूपमा उजागर गर्छ।

लुसिफर अब एक पात्र मात्र रहेन; यो फरक सोच, विद्रोही आवाज र स्थापित सत्तालाई चुनौती दिने जो-कोहीमाथि टाँसिने लेबल बन्दै गएको छ। यही कारणले आज “लुसिफर” शब्द नेपाली समाजमा केवल शब्द होइन, एक मानसिक्ता र पूर्वाग्रहको प्रतीकजस्तै बनिरहेको छ।

कसैलाई लुसिफर भनेर ट्याग लगाउनु अघि, त्यो शब्दको ऐतिहासिक-धार्मिक र दार्शनिक पृष्ठभूमि बुझ्नु जरुरी हुन्छ। लुसिफर कसरी जन्मेको थियो वा जन्माइएको थियो? के लुसिफर साँच्चै नकारात्मक पात्र वा सैतान नै हो? यी प्रश्नहरूको उत्तर नखोजी कसैलाई लुसिफर भन्नु सतही आरोप मात्र हुन्छ।

‘लुसिफर’ शब्द ल्याटिन भाषाको Lucifer बाट आएको हो, जसको अर्थ हुन्छ- “प्रकाश बोकेर आउने” (Light-bearer) बिहानीको तारा। अर्थात् बिहानीपख आकाशमा देखिने सबैभन्दा चम्किलो तारा। प्रारम्भिक कालमा लुसिफर अन्धकारको होइन बरु प्रकाश, सौन्दर्य र तेजको प्रतीकका रूपमा बुझिन्थ्यो।

धार्मिक (बाइबल) कथनअनुसार लुसिफर जन्मिएको पात्र होइन। ऊ ईश्वरद्वारा सृष्टि गरिएको एक उच्च कोटीको देवदूत (Archangel) थियो। लुसिफर अत्यन्तै सुन्दर, बुद्धिमान र शक्तिशाली मानिन्थ्यो। तर आफ्नै तेज, शक्ति र क्षमताप्रति घमण्ड बढ्दै जाँदा उसले ईश्वरसँग बराबरी गर्न खोज्यो। आफूमाथी प्रश्न गरेको कारणले लुसिफरलाई ईश्वरले स्वर्गबाट खसालिएका थिए।

समयक्रममा इसाई धर्मशास्त्रीहरूले यही विद्रोहलाई आधार बनाएर लुसिफरलाई ईश्वरद्वारा स्वर्गबाट खसालिएको पतित देवदूत अर्थात् सैतानका रूपमा चित्रण गरे। बाइबल अनुसार लुसिफर ईश्वरलाई प्रश्न गर्ने विद्रोही पात्र बन्यो र ईश्वरको सत्ता तथा स्वार्थमाथि प्रश्न उठाएकै कारण उसलाई सार्वभौमिक दुष्टका रूपमा स्थापित गरिदियो। दार्शनिक दृष्टिकोण र आधुनिक साहित्यमा लुसिफरको अर्थ फरक छ। यहाँ लुसिफरलाई अन्ध-आज्ञापालनको विरोध गर्ने पात्र, चेतनाको खोजी गर्ने विद्रोही, ज्ञान र स्वतन्त्रताको प्रतीक, तथा सत्ता र ईश्वरको निरंकुशतामाथि प्रश्न उठाउने चरित्रका रूपमा हेरिन्छ। यही कारण जोन मिल्टनको प्याराडाईज लस्ट  (Paradise Lost) जस्ता कृतिहरूमा लुसिफर पूर्ण रूपमा दुष्ट पात्र होइन, बरु त्रासदीपूर्ण  विद्रोहीका रूपमा प्रस्तुत गरिएको छ।

यसर्थ, लुसिफर कुनै एक अर्थमा सीमित पात्र होइन। ऊ कहिले सैतान बनेको छ, कहिले चेतनाको प्रतीक। ईश्वरको आदेशमाथि प्रश्न उठाउनु र ईश्वरको अन्ध-आज्ञापालन अस्वीकार गर्नु धार्मिक भाषामा “पाप” ठहरियो। सत्ताविरुद्ध उभिएको चेतनालाई देवदूतबाट सैतान बनाइयो। धार्मिक कथामा पाप र सैतान भनिन्छ भने राजनीतिक भाषामा विद्रोह भनिन्छ। यही कारणले लुसिफरलाई इतिहासको पहिलो “विद्रोही” मानिन्छ।

धार्मिक होस् वा राजनीतिक क्षेत्र, सत्ताले सधैं आफूलाई पवित्र घोषित गर्छ। ऊ आदेशलाई “कानुन” भन्छ, प्रश्नलाई “अराजकता” करार गर्छ। मौनतालाई शान्ति भन्छ, तर असहमतिको आवाजलाई अराजकता र उपद्रव ठान्छ। सत्ताका लागि आज्ञापालन नै नैतिकता हो, र प्रश्न उठाउनु नै अपराध। त्यसैले सत्ताको स्वार्थलाई चुनौती दिने व्यक्ति, परम्परागत र स्थापित दलमाथि प्रश्न उठाउने बुद्धिजीवी, भ्रष्टाचार, पाखण्ड र ढोंगको पर्दाफास गर्ने पात्रहरू आजका “लुसिफर” हुन्। उनीहरूलाई बदनाम गर्न, डर देखाउन र अलग्याउन प्रयोग गरिने पुरानो तर प्रभावकारी हतियार हो- चरित्र हत्या (character assassination)।

स्थापित सत्ताले आफूलाई औँला ठड्याउनेहरूलाई असभ्य, घमण्डी, उग्र वा अराजक देखाउने गर्छ। अन्ततः उनीहरूलाई “लुसिफर” को ट्याग लगाइन्छ। तर लुसिफर कुनै एक व्यक्ति होइन- ऊ यथास्थिति र परिवर्तनबीचको द्वन्द्व हो, सत्ता र चेतनाबीचको टकराव हो।

लुसिफरलाई बुझ्नु भनेको दुष्टतालाई स्वीकार गर्नु होइन। बरु सत्ताले कसरी प्रश्नलाई अपराध बनाउँछ? कसरी विद्रोहलाई राक्षसीकरण गर्छ? र कसरी चेतनालाई सैतानका रूपमा चित्रित गर्छ? त्यो प्रक्रियालाई बुझ्नु हो। यही बुझाइ बिना न त धर्मको राजनीति बुझिन्छ, न त राजनीतिको धर्म।

नेपालको वर्तमान सन्दर्भमा “लुसिफर” भन्नाले त्यो चेतनालाई बुझिन्छ जसले स्थापित पुराना दल, नेता र गुटहरूको तथाकथित पवित्रतामाथि प्रश्न उठाउँछ। ऊ “क्रान्ति” र “लोकतन्त्र” जस्ता बारम्बार उच्चारण गरिने तर व्यवहारमा खोक्रा बनाइएका शब्दहरूको नाङ्गोपन उजागर गर्छ। सत्ता प्राप्त गरेपछि जनताप्रति जवाफदेही तर नेताको नोकर हुन अस्वीकार गर्छ। यस्तो चेतनाले व्यक्तिपूजा, गुटगत स्वार्थ र इतिहासको जडतालाई अस्वीकार गर्छ। यसले पार्टीभित्रको मौनतालाई तोड्छ, असहज प्रश्नहरू उठाउँछ र नेतृत्वलाई ऐनाको सामु उभ्याउँछ। यही कारणले यस्तो आवाज सत्ताका लागि असहज बन्छ, र विस्तारै “विद्रोही”, “अराजक” वा “लुसिफर” को संज्ञा पाउँछ।

नेपालको वर्तमान सन्दर्भमा प्रस्ट शब्दमा भन्नुपर्दा, नेपाली काङ्ग्रेसभित्रका गगन थापा र विश्वप्रकाश शर्माहरू, नेकपा एमालेभित्रका सुरेन्द्र पाण्डे र योगेश भट्टराईजस्ता पात्रहरू यस अर्थमा “लुसिफर” मानिन्छ। व्यक्ति भएकाले होइन, तर स्थापित संरचना, जड सोच र शक्ति-केन्द्रित राजनीतिमाथि प्रश्न उठाउने साहस राखेकाले। नेपालको राजनीतिमा हिजोको माओवादी जनयुद्ध पनि लुसिफरको एक स्वरुप थियो। यस सन्दर्भमा लुसिफर कुनै गाली होइन, बरु लोकतान्त्रिक राजनीतिमा अपरिहार्य भूमिका हो। किनकि प्रश्नविहीन राजनीति अन्ततः अधिनायकवादतर्फ लम्किन्छ, र आलोचनाविहीन सत्ता सधैं आत्मकेन्द्रित र असंवेदनशील बन्छ। लुसिफर भनेको यही पतनको विरुद्ध उभिएको चेतनाको नाम हो।

अब थोरै बालेन्द्र शाहको प्रसङ्गमा प्रवेश गरौँ। आजभोलि ‘लुसिफर’ भन्नेबित्तिकै धेरै मानिसको मानसपटलमा सबैभन्दा पहिले बालेन्द्रकै अनुहार आउँछ। वास्तवमा हेर्ने हो भने, बालेन्द्रलाई ‘लुसिफर’ भन्नु अतिशयोक्ति होइन। नेपालको राजधानी अर्थात् शक्ति र सत्ताको केन्द्रमा, मधेसी मूलका एक र्‍यापर जो न त परम्परागत राजनीतिमा देखिएका थिए, न त सत्ताको वरिपरि घुमिरहेका- एकाएक मेयर बने। न कुनै खानदानी राजनीतिक विरासत, न कुनै स्थापित दलसँग नातागोता। अन्तर्मुखी स्वभाव, रहस्यमयी व्यक्तित्व र आफ्नै भाषामा बोल्ने शैली बोकेको एउटा पात्रले दशकौँदेखि जरा गाडेर बसेका राजनीतिक दलहरूलाई चित खुवायो। यही कारणले बालेन्द्र ‘लुसिफर’ ठहरिन्छन्। उनी लुसिफर भएर नै मेयर भएका हुन्। लुसिफर त यथास्थितिको अहंकारविरुद्ध उभिएको चेतना हो, चुनौती हो, विद्रोह हो।

बालेन्द्र पनि त्यही पुरानो, जड, र यथास्थितिवादी धन्दालाई चुनौती दिएर जन्मिएको पात्र हुन्। यो लुसिफर ईश्वरले बनाएको होइन; यो लुसिफर त बेथिति, अव्यवस्था, कुशासन, विकृति-विसङ्गति, दुरशासन र कुव्यवस्थाले मलजल गरेर जन्माएको सन्तान हो। जब व्यवस्था आफैँ अन्यायी बन्छ, जब सत्ताले जनतालाई हेप्छ, जब कानुन शक्तिशालीको नोकर बन्छ- त्यहीँबाट लुसिफर जन्मिन्छ।

त्यसैले बालेन्द्र कुनै आकस्मिक दुर्घटना होइनन्; उनी नेपाली राजनीतिले आफैँ उत्पादन गरेको परिणाम हुन्। व्यवस्था जति सडेको हुन्छ, त्यति नै तीखो लुसिफर जन्मिन्छ।

यहाँ मैले बालेन्द्र शाहलाई प्रतीक दृष्टिकोणबाट मात्र उल्लेख गरेको हुँ। बालेन्द्र आफैँमा रहस्यमयी, अन्तर्मुखी, र कहिलेकाहीँ अराजक अभिव्यक्तिका कारण विवादित पात्र मानिन्छन्। उनी भुइँमान्छेप्रति कतिपय अवस्थामा निरङ्कुश र असंवेदनशील देखिन्छन्। उनी देखिने तर नबुझिने पात्र हुन्- न धेरै बोल्ने, न आफ्ना कुरा सजिलै खोल्ने। सार्वजनिक व्यक्ति हुँदाहुँदै पनि आफ्नो जीवन र दीर्घकालीन योजना गोप्य राख्ने, अपारदर्शी स्वभाव बोकेको चरित्र उनीमा देखिन्छ। तर विरोधाभास यहीँ छ, हावा कुरा गर्ने, भाषणबाजीमा डुब्ने नेताभन्दा जनताले यस्तै मौन, गूढ र रहस्यमयी पात्रलाई बढी मन पराए।  यो रुचि संयोग होइन; यही गुणका कारण उनी ‘लुसिफर’को छायामा देखिन्छन्। यहाँ ‘लुसिफर’ भन्नाले दुष्टताको पूजा होइन, बरु यथास्थितिप्रति असहज प्रश्न उठाउने चेतनाको प्रतीक हो। यही कारणले बालेन्द्रलाई लुसिफरको प्रतीकमा राखेर बुझ्न खोजिएको हो।

सबै नेपाली नागरिक लुसिफर हुनुपर्छन्, अर्थात् आलोचनात्मक चेत बोकेका, प्रश्न गर्न सक्ने, र सत्यको पक्षमा उभिन सक्ने। सत्ताले प्रायः असहज सत्य बोल्नेहरूलाई दुष्ट, अराजक वा समाजविरोधी देखाउने प्रयास गर्छ। त्यसको प्रवाह गर्नु हुँदैन।

अन्त्यमा,  यहाँ एउटा कुरा स्पष्ट राख्न जरुरी छ- सबै विद्रोह प्रगतिशील हुँदैनन्, सबै विद्रोह नैतिक हुँदैनन्, र सबै विद्रोह जनपक्षीय पनि हुँदैनन्। त्यसैले लुसिफरलाई अन्धाधुन्ध रूपमा रोमान्टिक ‘हिरो’ बनाउनु पनि खतरनाक हुन्छ। चेतनासहितको विद्रोह मात्र मुक्तिदायी हुन्छ; बाँकी विद्रोहले अर्को अधिनायक जन्माउन सक्छ। हामी भित्रको लुसिफर चरित्र आगामी चुनावमा देखिनु पर्दछ, देखाइनु पर्दछ।

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

१० घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक