दाङ । जिल्लाका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो। आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पुर्याउने उद्देश्यले कार्यक्रम लागू भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए। चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको संख्या बढ्न नसकेको उनको भनाइ छ। प्रमुख वलीका अनुसार जिल्लाका दशवटै पालिकामा ३२ हजार आठ सयभन्दा बढीले बीमा गरेका छन्। हालसम्म १६ हजार ९३३ महिला र १५ हजार ८६७ पुरुषले बीमा गरेका हुन्। सबैभन्दा बढी घोराही उपमहानगरमा १५ हजार ५९१ बिमित छन्। तुलसीपुर उपमहानगरमा सात हजार ७३८, लमही नगरपालिकामा एक हजार ७६७, बबई गापामा एक हजार ४३९, बङ्गलाचुली गापामा ६७५, दङ्गीशरण गापामा ८९७, गढवा गापामा ७७९, राजपुर गापामा ५३३, राप्ती गापामा एक हजार ४४३ र शान्तिनगर गापामा एक हजार ४० बिमित रहेका प्रमुख वलीले जानकारी दिए।
उनका अनुसार हालसम्म बीमा गर्नेमध्ये सामान्य परिवारका १७ हजार ८३३, ज्येष्ठ नागरिक १० हजार २३६, अति अशक्त एक हजार ३५२, महिला स्वास्थ्य स्वयंसेविका एक हजार १९१, एचआईभी संक्रमित २२८, एमडिआर टिभी १० र लेप्रोसी रोगका चर जना छन्। ‘आर्थिक रूपमा समस्यामा परेका परिवारलाई उपचार सेवा लिन सहजताका लागि बीमा कार्यक्रम ल्याइए पनि चेतनाको अभावका कारण बीमा गर्नेको संख्या बढ्न सकेको छैन’, प्रमुख वलीले भने। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा र बङ्गलाचुली अस्पतालले बीमा गरेबापत उपचारका लागि रकम उपलब्ध गराउँदै आएका छन्।


