काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-७ स्पेशल चोकस्थित सडकमा बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल एकआपासमा ठक्कर खाई गए राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक काठमाडौं बाँसबारी बस्ने सिराहा घर भएका २९ वर्षीय भोला थापा र स्कुटर चालक काठमाडौं कपन बस्ने स्याङ्जा घर भएका २९ वर्षीय रामु प्रसाद ढकाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर र मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धनुषा, मिथिला बिहारी नगरपालिका-२ पशुराम तलाउस्थित सडकमा धनुषाधामबाट जनकपुरतर्फ जाँदै गरेको ज.८ प ८५२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सबैला नगरपालिका-२ बस्ने २१ वर्षीय संतोष दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको साई ट्रामा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-४ पाल्पा रोडस्थित सडकमा लु.२ ख १६९४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सैनामैना नगरपालिका-४ बस्ने २६ वर्षीया सुस्मा खत्रीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


