दीपेश दर्शनधारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले लामो समयदेखि बन्द रहेको टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको पुनः परीक्षण सुरु गरेको छ ।
दिगो फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) बीच परियोजना पुनः सञ्चालनसम्बन्धी समझदारी भएको थियो ।
बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले संयुक्त रूपमा परियोजनाको उद्घाटन गरे ।
परियोजना पुनः सञ्चालनका लागि आवश्यक वित्तीय व्यवस्थापन विश्व बैंकको सहयोगमा एईपीसीले सञ्चालन गरिरहेको मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रमअन्तर्गत गरिएको हो ।
सरकारले कुहिने फोहोरको व्यवस्थापनलाई नवीकरणीय ऊर्जा र जैविक मल उत्पादनसँग जोड्ने नीति अघि बढाइरहेका बेला टेकु परियोजनाको पुनः सञ्चालनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
युरोपेली संघको करिब १ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको यो परियोजना केही समय सञ्चालनमा आएपछि बन्द भएको थियो । पुनः सञ्चालनमा आएपछि परियोजनाले दैनिक ३ टन फोहोर व्यवस्थापन गर्नुका साथै ऊर्जा उत्पादन गर्नेछ । ekantipur


