काठमाडाैं । एएफसी महिला च्याम्पियन्स लिगका लागि नेपाल एपीएफ क्लबले दुई डिफेन्डरलाई टोलीमा भित्राएको छ।
एपीएफले च्याम्पियन्स लिगका लागि नेपाल पुलिस क्लबबाट समीक्षा घिमिरे र त्रिभुवन आर्मी फुटबल क्लबबाट विमला विकलाई टोलीमा अनुबन्ध गरेको छ।
यस्तै मुख्य प्रशिक्षकको जिम्मा भने एपीएफले नेपाल पुलिस क्लब कै प्रशिक्षक चेतन घिमिरेलाई सुम्पेको छ। घिमिरे एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।
एएफसी महिला च्याम्पियन्स लिगमा एपीएफ समुह बी मा परेको छ। एपीएफ रहेको समुहमा साउदी अरबको अल नासर, आयोजक उज्वेकिस्तानको पिएफसी नसाफ र थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स रहेको छ।
समूह चरणका खेलहरू अगस्ट २३ देखि ३१ सम्म उज्वेकिस्तानमा हुनेछ। छनोटमा सहभागी १९ टोलीलाई ५ समुहमा विभाजन गरिएको छ। समूह चरणमा ४ समूहमा ४ टोली र एक समूहमा ३ टोली रहेका छन्। हरेक समूह विजेताले फाइनल चरणमा स्पर्धा गर्नेछन्।
यसअघि नै छनोट भइरहेका ७ टोलीसहित छनोट चरण पार गर्ने ५ गरी १२ टोलीले फाइनल चरणमा स्पर्धा गर्नेछन्।


