रौतहट । गरुडा नगरपालिकाअन्तर्गत शिवनगरमा आयोजित सोमारी महोत्सवमा जिल्लाका स्थानीय कलाकारहरूसँग गरिएको विभेदपूर्ण व्यवहार र विगत दुई वर्षदेखिको पारिश्रमिक नपाएको विषयमा कलाकारहरूले कडा आपत्ति जनाएका छन्। यो विषय अहिले जिल्लाभर व्यापक बहसको केन्द्र बनेको छ।
कार्यक्रमको आयोजना गरुडा नगरपालिकाले गरे पनि, कलाकारहरूसँग सम्मानजनक व्यवहार नगरिएको र तलबभत्ता समेत आजसम्म नपाएको भन्दै असन्तुष्टि बढेको छ।
“हामीले हाम्रो कला र मेहनत दिएर कार्यक्रमलाई सफल बनायौँ। तर दुई वर्ष बितिसक्दा पनि हाम्रो पारिश्रमिक भुक्तानी भएको छैन,” पत्रकार दिपेश कुमार शाहसँग कुरा गर्दै कलाकार दिपलाल यादवले आक्रोश व्यक्त गरे।
उनले थपे, “कलाकारप्रति गरिएको यस्तो लापरवाही र उपेक्षा हाम्रो आत्मसम्मानमाथिको गम्भीर चोट हो। अब हामी चुप बस्दैनौं।”
यसै सन्दर्भमा गरुडा नगरपालिका मेयर पदका उम्मेदवार रविन्द्र यादवले पनि आफ्नो धारणा सार्वजनिक गर्दै भने, “कलाकार हाम्रो जिल्लाको गहना हुन्। उनीहरूमाथि गरिएको अन्यायपूर्ण व्यवहार, विभेद र पारिश्रमिक रोक्ने प्रवृत्तिको म घोर भर्त्सना गर्छु। कलाकारको आवाज दबाउने जो कोही प्रयास असफल हुनेछ। म सदैव कलाकारहरूको साथमा छु।”
यही असन्तुष्टि र आवाज उठाउने क्रमसँगै, कलाकारहरू र सरोकारवालाहरूले आइतबार गरुडा नगरपालिकामा सामूहिक रूपमा उपस्थित भई पारिश्रमिकको हिसाब लिने चेतावनी दिएका छन्।
कलाकारहरूको आरोप अनुसार, महोत्सव आयोजनाको नाममा नगरपालिका भित्र ‘टेन्डरको खेल’ समेत भएको आशंका गरिएको छ। एक जना निकट व्यक्तिलाई मात्र टेन्डर दिइएको र पारदर्शिता नअपनाइएको गुनासो पनि उठेको छ। यसले गर्दा भ्रष्टाचार नियतले प्रेरित कार्यशैली भएको कलाकार र स्थानीय युवाहरूको आरोप छ।
यस घटनाले गरुडा नगरपालिकाको पारदर्शिता, जवाफदेहिता र स्थानीय कलाकारप्रतिको सम्मानमाथि गम्भीर प्रश्न उठाएको छ।
अब हेर्न बाँकी छ — नगरपालिका प्रशासन कलाकारको आवाज सुन्छ कि चुप लागेर बेवास्ता गर्छ।


