काठमाडाैं । लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं पूर्व सचिव उमेश प्रसाद मैनालीको प्रशासनिक ऐतिहासिक संस्मरण ‘सुनेको शासन: भोगेको प्रशासन’लोकार्पण भएको छ।राजधानीमा आयोजित एक समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तक लोकार्पण गरेका हुन्।
पुस्तक लोकार्पण गर्दै राउतले भने, ‘नेपालको प्रशासनिक क्षेत्रको यतिलामो कालखण्ड समेटेर तथ्य परक रुपमा पुस्तक लेख्नु आफैंमा चुनौती हो। आदरणीय व्यक्तित्व उमेशप्रसाद मैनालीले मलाई पनि मार्गनिर्देश गर्नुभएको छ। यो पुस्तक नेपालको प्रशासनको साँचो संस्मरणात्मक इतिहास हो।’
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले पुस्तकबारे टिप्पणी गर्दै भने, ‘२००७ यताका शासन र प्रशासनका मुख्य घटना, आरोह अवरोह, विभिन्न काण्डहरु, तिनका असर तथा पात्रहरुको भूमिका सटिक रुपले समेटिएकाले यो पुस्तक सबैले पढ्नै पर्ने बनेको छ।’
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार हरिबहादुर थापाले भने, ‘प्रशासनिक क्षेत्रमा यसरी पुस्तकहरु लेखिएका छैनन्। यो पुस्तकले प्रशासनिक क्षेत्र भित्रका कमजोरीहरुलाई उजागर गर्दै सबल र उन्नतशील समाज निर्माणका लागि प्रेरणा दिएको छ। चाकडी, चाप्लुसी र चियोचर्चो छाडेर आफ्नो कर्तव्य निर्वाह गरी सुशासन कायम गर्नुपर्ने ऐतिहासिक तथ्यात्मक विषय वस्तुहरु भएकाले निजामती प्रशासन क्षेत्रका व्यक्तिका लागि यो पुस्तक लाभदायी छ।’
थापाले सरल र रोमाञ्चक भाषाशैलीमा लेखिएकाले पढ्दा पाठकलाई फिक्सनको अनुभूति हुने पनि जनाए ।
कार्यक्रममा बोल्दै पूर्व सचिव श्यामप्रसाद मैनालीले मैनाली परिवारको प्रशासनिक निष्ठा र उमेश प्रसाद मैनालीको कार्य सम्पादन तथा सरलपनको प्रशंसा गरेका थिए। त्यस्तै अर्का वक्ता परराष्ट्र मन्त्रालयकी सहसचिव ईला मैनालीले बुबाकै पथ प्रदर्शनमा लागेकाले पुस्तकमा उहाँले उल्लेख गरेका कुरा आफूलाई पनि प्रेरक हुने बताइन्।
प्रजातन्त्रको स्थापनादेखि गणतान्त्रिक नेपालको संविधानसम्मका प्रशासनिक घटना समेटिएको यस पुस्तकमा आधुनिक प्रशासनको जग बसाल्ने २००७ को प्रशासनिक पुनर्गठन, अन्तरिम कालको प्रशासनिक अस्थिरता,पहिलो निर्वाचित सरकारको प्रशासन सुधार, पञ्चायतकालीन प्रशासनिक राज्य र २०४६ सालयताको राजनीतिक प्रशासनबारे चर्चा गरिएको छ।
बुकहिलले प्रकाशन गरेको पेपर व्याक संस्करणको मूल्य ८०० रुपैयाँ रहेको छ।


