साँखु । साहित्यकार तथा रङ्गकर्मी जीवन श्रेष्ठका सातवटा कृति एकैसाथ सार्वजनिक हुने आज हुने भएकाे छ ।
चार दशकदेखि निरन्तर साहित्य सिर्जना र रङ्गकर्ममा सक्रिय श्रेष्ठका कृति विशेष समारोहबीच लोकार्पण हुन लागेकाे छ ।
साँखुको मौलिक संस्कृति, इतिहास, परम्परा र जनजीवनलाई साहित्य, नाटक तथा अभिनयमार्फत अभिव्यक्त गर्दै आएका साहित्यकार श्रेष्ठका ‘सिलु’, ‘पारपाचुके’, ‘मतिना या पारु’, ‘तिमिला’, ‘कुमारी’, ‘शंखधर’ र ‘लाखे व मैचा’ गरी सातवटा कृति सार्वजनिक हुन लागेका हुन्।
उनका कृतिले स्थानीय सांस्कृतिक पहिचानलाई पाठकमाझ पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको निमन्त्रणाअनुसार ‘स्वफू पितब्बज्या ज्याझ्व:’ आयोजना हुने पुस्तक लोकार्पण समारोह दिउँसो १ः३० बजे भक्ती ब्याम्बो कटेज, महादेवस्थान, साँखुमा हुनेछ। समारोहको अध्यक्षता स्वयं साहित्यकार श्रेष्ठले गर्नेछन्।
लोकार्पण समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी हुने निश्चित भएको छ। त्यसैगरी कीर्तिपुर नगरपालिकाका प्रमुख, काठमाडौं क्षेत्र नं. २ का सभापति कविर शर्मा फुयाल तथा साहित्य र संस्कृतिसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
कार्यक्रममा पूर्ण ताम्राकार, डा. दिनेश भुजु र नारायण श्रेष्ठलगायतको पनि सहभागिता रहनेछ। चार दशकदेखि साँखुको कथा लेख्दै समयसँगै पुस्ता, जीवनशैली र प्रविधिमा परिवर्तन आए पनि साँखुको माटो, भाषा, संस्कृति र जनजीवनलाई सिर्जनाको केन्द्रमा राख्दै आएका श्रेष्ठको साहित्यिक यात्रा चार दशक लामो छ।
उनका लागि साहित्य मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय इतिहास, सांस्कृतिक स्मृति र मौलिक पहिचानलाई भावी पुस्तासम्म पुर्याउने अभियान पनि हो। श्रेष्ठका यसअघि ‘चिपनिप’, ‘राजमती’, ‘महाद्यःझ्वाला’, ‘साँखुको विस्केटजात्रा’, ‘या अर्धपागल’ र ‘सलख्वाःमाजु’ लगायतका कृति प्रकाशित भइसकेका छन्। ‘सलख्वाःमाजु’ कृति उनका बुबाको ४५औँ दिनको पुण्यतिथिमा प्रकाशित गरिएको विवरण छ। उनका सिर्जनामा साँखुको सामाजिक जीवन, सांस्कृतिक परम्परा र स्थानीय जनजीवनका विविध पक्षले स्थान पाउँदै आएका छन्। श्रेष्ठको योगदान साहित्यमा मात्र सीमित छैन।
२०४४ साल कात्तिकमा प्रकाशित ‘अर्ध पागल’ सडक नाटक सङ्ग्रह उनको रङ्गकर्म यात्राको महत्त्वपूर्ण कृति हो। उनले नेपाल भाषाको सडक नाटक ‘सयका दिसँ व थ्वन स्वीकार यायमा’ लेखन तथा निर्देशन गरेका थिए। उक्त नाटक साँखुको सक्व इपाटोलमा प्रदर्शन गरिएको थियो।
साँखुका विभिन्न टोलमा हुने सांस्कृतिक प्रदर्शन तथा परम्परागत दबु प्याँखमा अभिनय गर्दै आएका श्रेष्ठ नेपाल टेलिभिजनबाट प्रसारित नेपाल भाषाको कार्यक्रम ‘पला ख्याँय’ मा समेत लेखक तथा कलाकारका रूपमा सहभागी भएका थिए। सडक नाटकदेखि परम्परागत रङ्गमञ्च र टेलिभिजनसम्म फैलिएको उनको यात्राले साँखुको सांस्कृतिक जीवनसँगको लामो सम्बन्धलाई उजागर गर्छ। स्थानीय संस्कृति र इतिहासको अभिलेखीकरणमा जोड आधुनिकताको तीव्र विस्तारसँगै स्थानीय भाषा, संस्कृति, परम्परा र मौलिक पहिचान संरक्षणको चुनौती बढिरहेका बेला श्रेष्ठका सिर्जनालाई साँखुको सांस्कृतिक जीवन अभिलेखीकरण गर्ने प्रयासका रूपमा लिन सकिन्छ।
उनका कृतिमा स्थानीय समाजका स्मृति, अनुभव, जात्रा, परम्परा र सांस्कृतिक अभ्यासलाई लिखित रूपमा सुरक्षित राख्ने प्रयत्न देखिन्छ।
सातवटा कृति एकैसाथ सार्वजनिक हुनुले श्रेष्ठको चार दशक लामो सिर्जनायात्रामा अर्को महत्त्वपूर्ण अध्याय थप्नेछ। आफ्नै माटोको कथा र संस्कृतिलाई साहित्य तथा रङ्गकर्ममार्फत जीवन्त राख्दै आएका श्रेष्ठका कृतिले साँखुको पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउन योगदान गर्ने अपेक्षा गरिएको छ।


