काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (एफडीडी-४) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन भ्रमण गर्ने तयारी पूरा भएको छ।
स्पेनको सेभिल्लामा हुने यो महत्त्वपूर्ण सम्मेलनका लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो।
विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यका लागि अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिन यो मञ्च महत्त्वपूर्ण भएकाले प्रधानमन्त्री ओलीबाट भ्रमण हुन लागेको जनाए।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर पौडेल क्षेत्रीले विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहने जनाए।
उनले दिगो विकास, विकासका लागि वित्त र खासगरी विकास सहायता, लगानी, प्रविधि हस्तान्तरण लगायतका मुद्दामा विकसित मुलुक र विकासशील एवं कम विकसित मुलुकबीचको सर्वाधिक महत्त्वको सम्मेलन भएकाले त्यहीअनुरूप उच्च प्राथमिकता र उच्चस्तरीय सहभागिता महत्त्वपूर्ण हुने जनाए।
नेपालले हाल अल्पविकसित मुलुकहरूको अन्तर्राष्ट्रिय समन्वयको अध्यक्षता गरिरहेको अवस्थामा नेपालको छुट्टै भूमिका रहनेछ। नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ। धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ।
भ्रमण तालिका र प्रतिनिधिमण्डल:
प्रधानमन्त्री ओली असार १४ गते शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड प्रस्थान गर्नेछन्। असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनमा सहभागिता जनाएर उनी असार २० गते शुक्रबार साँझ ४:४५ बजे फर्कने तालिका रहेको छ। नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धि तथा स्पेनलगायत युरोपेली मुलुकका पर्यटक आकर्षणमा योगदान पुग्ने विश्वास गरिएको छ।
कुल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वीकय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल लगायत सहभागी हुनेछन्।
काठमाडौँबाट २१, स्पेन र न्यूयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ। भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा लगायत सहभागी हुनेछन्।


