काठमाडौं । सिमकार्ड र इन्टरनेट जडान नगरिएका मोबाइलमा पनि विपद्को सन्देश प्राप्त हुने ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको आज काठमाडौंमा परीक्षण गरिँदैछ ।
विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सीबीएस) को परीक्षण गर्न लागिएको हो ।
दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण उपकरणहरूमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ ।
विपद्का समयमा मोबाइल फोनमार्फत पूर्वसूचना सन्देश प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता तथा सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्न लागिएको उनले बताए ।
सेल ब्रोडकास्टिङ प्रणाली के हो ?
सेल ब्रोडकास्टिङ प्रणाली निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिने प्रविधि हो ।
यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन्छ ।
सामान्य म्यासेजभन्दा फरक यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा समेत छोटो समयमा धेरै मोबाइल उपकरणमा सूचना पुर्याउन सक्छ ।
‘सेल ब्रोडकास्टिङ’ प्रणालीमार्फत एसएमएस जस्तो मोबाइलको ‘इनबक्स’ सन्देश आउने नभई मोबाइल स्क्रिनमा ‘अलर्ट’ का रूपमा देखिन्छ । प्रयोगकर्ताले उक्त सन्देश नहेरेसम्म वा बन्द नगरेसम्म मोबाइलमा आवाज बजिरहन्छ । सन्देश पाउनेले उक्त सन्देश नपढेसम्म मोबाइलमा अरू काम गर्न नमिल्ने भएकाले विपत्सम्बन्धी सन्देश पढ्न वा हेर्नैपर्ने बाध्यता हुन्छ ।
यसबाट विपद्को जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले आवश्यकताअनुसार लक्षित समुदायलाई सचेत गराउन सकिनेछ ।
प्रारम्भिक परीक्षण सफल भएमा उक्त प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपद्को उच्च जोखिम रहेका क्षेत्रहरूमा कार्यान्वयन गर्ने योजना रहेको छ ।
यस प्रणालीको कार्यान्वयनले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी र सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा दूरसञ्चार प्रविधिको उपयोगमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्ने दिशामा यो परीक्षणलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।


