काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक सँगै छलफलमा जुट्दैछन्।
निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा यो संयोग जुर्न लागेको हो।
स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल गर्न शुक्रबार निर्वाचन आयोगले सबै दलका प्रमुखहरूलाई छलफलमा बोलाएको छ। एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली नै सहभागी हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। ‘निर्वाचन आयोगले पार्टी अध्यक्षहरूलाई नै छलफलमा बोलाएको छ,अध्यक्ष नै जानुहुन्छ, ’ उनले भने। रास्वपाका तर्फबाट सभापति लामिछाने, कांग्रेस सभापति गगन थापा छलफलमा सहभागी हुनेछन्। त्यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरू पनि छलफलमा सहभागी हुनेछन्।
आगामी वैशाखमा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल पूरा हुँदैछ। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति सुझावको गृहकार्य गरिरहेको छ। यसै सन्दर्भमा राजनीतिक दलहरूसँग राय लिन सबैसँग सामूहिक छलफल गर्न लागेको हो।


