सबि भट्टराई
नेपाली राजनीतिमा महिला नेतृत्वको चर्चा धेरै हुने गर्छ, तर अवसर पाएका महिलाले आफ्नो जिम्मेवारी कसरी निर्वाह गर्न सक्छन् भन्ने प्रश्नको जवाफ व्यवहारमा देखिने उदाहरण भने तुलनात्मक रूपमा कम छन्। महिलालाई नेतृत्वमा पु¥याउनुपर्ने बहस प्रायः प्रतिनिधित्वको संख्यामा सीमित हुने गरेको छ । तर नेतृत्वको वास्तविक मूल्यांकन संख्या होइन, अवसर पाएपछि देखाइने क्षमता, निर्णय गर्ने साहस र परिणामबाट हुन्छ । यही सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री प्रतिभा रावलले छोटो अवधिमै गरेको एउटा निर्णय विशेष रूपमा उल्लेखनीय बनेको छ ।
मन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले स्थानीय तहमा लामो समयदेखि देखिँदै आएको प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकी थिइन्। स्थानीय सरकार सञ्चालनको मूल प्रशासनिक संयन्त्र मानिने प्रमुख प्रशासकीय अधिकृतको पद धेरै पालिकामा रिक्त रहँदा विकास निर्माणदेखि दैनिक सेवाप्रवाहसम्म प्रभावित हुँदै आएको थियो। वर्षौंदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा स्थानीय तह चलाउने अभ्यासले प्रशासनिक अनिश्चितता मात्र बढाएको थिएन, स्थानीय सरकारको कार्यक्षमतामाथि पनि प्रश्न उठाएको थियो।
प्रतिभा रावलले जिम्मेवारी सम्हालेको करिब चार महिनामै यो समस्या समाधानतर्फ निर्णायक कदम चालेकी छन्। मन्त्रालयले ७५३ वटै स्थानीय तहमा दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत खटाएको जनाएको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पदपूर्तिको समस्या २०७४ सालमा स्थानीय तहको निर्वाचन भएयता निरन्तर चुनौतीका रूपमा रहँदै आएको थियो। विभिन्न राजनीतिक नेतृत्व र सरकारका पालामा पनि यो समस्या समाधान हुन सकेको थिएन । तर छोटो समयमै यसलाई समाधान गर्न गरिएको पहलले एउटा महत्वपूर्ण सन्देश दिएको छ, समस्या जटिल भए पनि दृढ इच्छाशक्ति र स्पष्ट प्राथमिकता भए समाधान सम्भव छ ।
नेतृत्व भनेको समस्या देखाएर मात्र बस्नु होइन । नेतृत्व भनेको जटिलताका बीच समाधान खोज्नु हो। प्रतिभा रावलले यही साहस देखाएकी छन्। मन्त्रालयले विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीलाई स्थानीय तहमा सरुवा तथा कामकाजमा खटाउँदै रिक्त रहेका स्थानहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । स्थानीय तह जान नमानेका, मुद्दा मामिलाका कारण जटिलता देखिएका तथा अन्य प्रशासनिक समस्यामा परेका कर्मचारीका विषयलाई समेत समाधान गरेर खटनपटन प्रक्रिया अघि बढाइएको छ । यहीँबाट महिलाले अवसर पाउँदा देखाउने नेतृत्व क्षमताको बहस अझ अर्थपूर्ण हुन्छ । महिलालाई जिम्मेवारी दिँदा उनीहरूले काम गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न नेपाली समाजमा अझै पूर्ण रूपमा समाप्त भएको छैन । राजनीतिमा होस् वा प्रशासनमा, महिलाले अवसर पाउँदा पनि उनीहरूको क्षमतालाई पुरुष नेतृत्वको मापदण्डबाट हेर्ने प्रवृत्ति कायमै छ ।
महिलाले सफल हुनुपरेमा उनीहरूले आफ्नो क्षमता प्रमाणित मात्र होइन, धेरैपटक शंका, पूर्वाग्रह र अविश्वाससमेत चिर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा प्रतिभा रावलको कार्यसम्पादनले महिलालाई अवसर दिनु दया वा आरक्षणको विषय मात्र होइन भन्ने देखाएको छ ।
नेपालको स्थानीय तहको संरचना संघीय शासन व्यवस्थाको सबैभन्दा महत्वपूर्ण आधार हो। नागरिकले राज्यसँग प्रत्यक्ष सम्पर्क गर्ने तह नै स्थानीय सरकार हो। यस्तो संरचनाको प्रशासनिक नेतृत्व कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नागरिकले भोग्नुपर्छ । त्यसैले प्रमुख प्रशासकीय अधिकृतको रिक्तता अन्त्य गर्नु केवल मन्त्रालयको उपलब्धि मात्र होइन, स्थानीय शासनलाई प्रभावकारी बनाउने प्रयास पनि हो। रावलले आफ्नो मन्त्रालयको जिम्मेवारीभित्र पर्ने एउटा स्पष्ट समस्या पहिचान गरिन्। त्यसलाई प्राथमिकता दिइन्। प्रशासनिक जटिलता समाधान गर्ने प्रयास गरिन् र अन्ततः परिणाम देखाइन्। नेतृत्वको यही शैलीलाई अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ । सबै समस्या एकैपटक समाधान गर्न नसकिएला, तर एउटा प्राथमिकता तय गरेर त्यसमा परिणाम निकाल्ने अभ्यास सुरु गर्न सकिन्छ ।
महिला नेतृत्वको प्रश्नमा नेपालले अझै लामो यात्रा तय गर्न बाँकी छ । संसद्, सरकार, राजनीतिक दल, प्रशासन र निर्णय गर्ने तहमा महिलाको उपस्थिति बढे पनि निर्णायक जिम्मेवारीमा उनीहरूको पहुँच अझै सीमित छ ।
महिलालाई अवसर दिँदा उनीहरूलाई केवल औपचारिक प्रतिनिधिका रूपमा राख्ने होइन, काम गर्ने अधिकार र निर्णय गर्ने स्वतन्त्रता पनि दिनुपर्छ । जिम्मेवारी दिइएपछि विश्वास गर्नुपर्छ र परिणामबाट मूल्यांकन गर्नुपर्छ । नेपालको राजनीतिक संस्कृतिमा प्रायः ठूलो परिवर्तनको कुरा गरिन्छ । तर राज्य संयन्त्रभित्रका साना देखिने तर जनजीवनमा प्रत्यक्ष असर पार्ने समस्याको समाधान पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एउटा पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित हुन सक्छ, विकास योजना रोकिन सक्छ र प्रशासनिक निर्णयमा ढिलाइ हुन सक्छ । ७५३ वटै स्थानीय तहमा यस्तो प्रशासनिक संरचना पूर्ण बनाउने प्रयासले संघीय शासनलाई थप व्यवस्थित बनाउन सहयोग गर्न सक्छ ।
नेपाललाई आज धेरै भाषणभन्दा परिणाम दिने नेतृत्व चाहिएको छ । पुरुष होस् वा महिला, नेतृत्वको मूल्यांकन उसको कामबाट हुनुपर्छ । तर महिलालाई अवसर दिँदा उनीहरूले केवल प्रतिनिधित्व पूरा गर्दैनन्, दृढता, संवेदनशीलता, जिम्मेवारी र साहसका साथ परिवर्तनको नेतृत्व पनि गर्न सक्छन्। प्रतिभा रावलको यो कदम त्यसैको एउटा उदाहरण हो। अवसर पाएर काम गर्ने ठाउँ दिइयो भने महिलाले पनि केवल कुर्सी सम्हाल्दैनन्, वर्षौंदेखि थन्किएका समस्या समाधान गर्ने साहस पनि देखाउँछन्। जनधारणा साप्ताहिक


