काठमाडौं । आकर्षक तलब र राम्रो रोजगारीको प्रलोभन देखाएर महिलालाई घरेलु कामदारका रूपमा कुवेत पठाउने र त्यहाँ पुगेपछि बन्धक बनाउने गिरोहको अर्को गम्भीर घटना खुलेको छ।
कुवेतमा करिब डेढ महिनादेखि बन्धक बनाइएकी एक नेपाली महिलाको उद्धारका लागि अनुसन्धान अघि बढाउँदा प्रहरीले नेपालमै थप ९ महिलालाई त्यसैगरी कुवेत पठाउने तयारीमा राखिएको अवस्थामा फेला पारेको छ।
कुवेतमा महिला बन्धक बनाइएको सूचनापछि सम्बन्धित निकाय र कुवेतस्थित नेपाली राजदूतावाससँग समन्वय गरी ती महिलाको गत अगस्ट १५ मा उद्धार गरिएको थियो। उद्धारपछि उनलाई नेपाल पठाउने बेला ती महिलालाई कुवेत कसरी र कसले पठायो भन्ने अनुसन्धान सुरु भयो । यस्तो प्रलोभन दिइ विदेशमा बन्धक हुन बाध्य पार्ने कार्यमा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका–११ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–७ थापागाउँ बस्ने ३१ वर्षीया ममता पछाईलाई पक्राउ परिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पछाईले सामाजिक सञ्जालमार्फत महिलाहरूसँग सम्पर्क गरी आकर्षक तलब तथा सुविधामा घरेलु कामदारका रूपमा कुवेत पठाइदिने प्रलोभन देखाउने गरेको खुलेको छ।
कार्कीका अनुसार, कुवेतमा एक महिला बन्धक बनाइएको घटनाको अनुसन्धान गर्दै जाँदा पछाईले काठमाडौंमै अन्य महिलालाई समेत त्यसरी नै विदेश पठाउने तयारी गरिरहेको तथ्य खुलेको हो।
प्रहरीका अनुसार पछाईले फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग अनलाइन सम्पर्क गरी महिलालाई रोजगारीको प्रलोभन दिने गरेकी थिइन्। त्यसरी सम्पर्कमा आएका महिलालाई विभिन्न स्थानबाट काठमाडौं बोलाएर तारकेश्वर नगरपालिका–७ थापागाउँस्थित भाडाको कोठामा राखिएको थियो।
प्रहरी टोलीले उक्त स्थानमा छापा मार्दा कुवेत पठाउन तयार पारिएका ९ जना महिला फेला पारेको थियो। उनीहरूलाई उद्धार गरी आवश्यक परामर्शपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
यो घटनाले विदेशमा रोजगारीको आकर्षक सपना देखाएर महिलालाई जोखिमपूर्ण अवस्थामा पुर्याउने गिरोहको सञ्जाल नेपालमै सक्रिय रहेको आशंका थप बलियो बनाएको प्रहरीको भनाइ छ।
एसपी कार्कीका अनुसार घटनामा ममता पछाईको संलग्नता खुलेपछि उनलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहल पठाइएको छ।
प्रहरीले पछाईसँगको प्रारम्भिक अनुसन्धानका आधारमा यस घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी गरिरहेको जनाएको छ। कुवेत पठाउने नाममा महिलालाई काठमाडौंमा जम्मा पार्ने, विदेश पठाउने प्रक्रिया मिलाउने र विदेश पुगेपछि उनीहरूको अवस्थाबारे समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकी पछाईविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाही अघि बढाइएको छ। एक महिलालाई कुवेतमा बन्धक बनाइएको घटनाबाट सुरु भएको अनुसन्धानले नेपालमै थप ९ महिलालाई त्यही बाटोमा पठाउने तयारी भइरहेको तथ्य बाहिर ल्याएपछि घटना थप गम्भीर बनेको छ।


