काठमाडौं । ललितकला क्याम्पसले आफ्नो भोगाधिकारमा रहेको जग्गामा काठमाडौं महानगरपालिकाले गणेश तथा भैरवको मूर्ति शिलान्यास गरेकोमो आपत्ति जनाएको छ ।
क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रारलाई पत्र लेख्दै क्याम्पसको भोगाधिकारमा रहेको जग्गाको कानुनी संरक्षण गरी अनधिकृत शिलान्यास तथा निर्माण कार्य रोक्का गर्न माग गरेका छन् ।
‘धार्मिक आस्थाको सम्मान गणेश तथा भैरवको मूर्ति स्थापना एवं धार्मिक आस्थाप्रति ललितकला क्याम्पसको कुनै विरोध छैन,’ पत्रमा भनिएको छ, ‘आम नागरिक र भक्तजनको धार्मिक विश्वास र पूजाआजा गर्ने अधिकारको सम्मान गरिनुपर्छ ।’
तर बलजफ्ती निर्माण गर्न लागिएकोमा क्याम्पसले आपत्ति जनाएको छ ।
‘एउटा प्रयोजनका लागि प्राप्त तथा शैक्षिक दान स्वरूप रहेको जग्गा कानुनी प्रक्रिया र उचित सोधभर्नाविना अर्को प्रयोजनमा प्रयोग गर्न मिल्दैन । विधिको शासन र सम्पत्तिको हकविपरीत राज्य वा कुनै पनि निकायबाट हुने बलजफ्ती तथा मनमानी ललितकला क्याम्पसलाई स्वीकार्य छैन,’ पत्रमा भनिएको छ ।
कानुनविपरीत हुने एकतर्फी कार्यको प्रमाण सङ्कलन गरी आवश्यकता अनुसार अदालतमा न्यायिक उपचार खोज्ने क्याम्पसले जनाएको छ ।
पत्रमा काठमाडौं महानगरपालिकाका प्रमुख, वडा नं. २३ का वडाध्यक्ष, र पुरातत्व विभागका महानिर्देशकको मिलेमतोमा धार्मिक कार्यको आड लिएर शैक्षिक संस्थाको जग्गामा अनधिकृत रूपमा शिलान्यास गरिएको क्याम्पसले आरोप लगाएको छ ।



