काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूले ७८ दिनदेखि गर्दै आएको विरोध सोमबारबाट हटेको छ। सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि विपक्षी सांसदहरू आफ्नो विरोधबाट पछि हटेका हुन्।
सोमबार बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू विगतका बैठकमा झैँ उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै लामो समयदेखि भइरहेको विरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताए।
सभामुखले प्रतिनिधिसभा नियमावलीका नियम ५६ देखि ६० बमोजिम सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरे। उनले सरकार र प्रधानमन्त्रीका नाममा रुलिङ भइसकेको भन्दै विपक्षी सांसदहरूलाई बस्न आग्रह गरेपछि उनीहरू बसेका थिए।
विपक्षी दलहरूले गत १७ जेठदेखि प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिको जवाफ र तथ्यगत स्पष्टीकरण माग गर्दै सदनमा निरन्तर विरोध गर्दै आएका थिए।
प्रधानमन्त्रीले लिपुलेकसहित सीमा विवादका विषयमा भारत र चीनसँगै बेलायतसँग समेत कुरा गरिएको तथा नेपालले पनि भारतको भूमि मिचेको आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको जनाएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले संसद्मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने मागसमेत राख्दै आएका थिए। तर प्रधानमन्त्री प्रश्नोत्तरका लागि संसद्मा उपस्थित नभएपछि विरोध निरन्तर चल्दै आएको थियो।
जेठमा १४ दिन, असारमा ३२ दिन र साउनमा ३१ दिन गरी ७८ दिनसम्म विपक्षी सांसदहरूले बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका थिए। सभामुखले सोमबार प्रधानमन्त्रीलाई नियमावलीअनुसार सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि भने लामो समयदेखि जारी विरोध तत्कालका लागि हटेको हो।


