काठमाडौं । आज श्रावण शुक्ल पञ्चमी, परम्पराअनुसार नागको पूजा गरी देशभरि नागपञ्चमी मनाइएकाे छ ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेकाे छ ।
आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ । धार्मिक विश्वास राख्नेहरू बिहानै नागपोखरी पुगेर दूध चढाएर नागको पूजा गरेका छन् ।


