काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको सिफारिसको करिब १३ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएको जनाउनुभएको छ ।
उहाँले आयोगको स्थापनाकालदेखि हालसम्म गरिएका सिफारिसमध्ये करिब ५३ प्रतिशत कार्यान्वयन नभएको उल्लेख गर्नुभयो । आयोगको स्थापना २०५७ साल जेठमा भएको हो । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले ‘मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनको कार्यान्वयन अवस्था’ सम्बन्धमा आयोगका अध्यक्ष र सचिवसँग गरेको अन्तव्रिर्mयामा अध्यक्ष मगरले स्थापनाकालदेखि हालसम्म सिफारिसको करिब १३ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएको जानकारी गराउनुभयो ।
उहाँले ५२.६० प्रतिशत कार्यान्वयन नभएको बताउनुभयो । आयोगमा करिब १४ हजार उजुरी परेका छन् । जसको ८० प्रतिशत द्वन्द्वकालीन मुद्दा छन् । समितिका सभापति जयन्तीदेवी राईले पछिल्लो समय देखिएका धार्मिक द्वन्द्व, खाना पकाउने ग्यासको अभाव, उपभोग्य सामग्रीको मूल्यवृद्धिलगायतका विषयबारे आयोगका अध्यक्ष मगर र सचिव मुरारीप्रसाद खरेलसँग छलफल गरिएको जनाउनुभयो ।
छलफलमा आयोगका अध्यक्ष मगरले द्वन्द्वकालीन क्षतिपूर्ति कुल ३३ करोड रुपियाँ वितरण गर्नुपर्नेमा हालसम्म १० करोड रुपियाँ मात्रै वितरण गरिएको जानकारी गराउनुभयो । उहाँले सिफारिस कार्यान्वयन र त्यस अन्तर्गतको क्षतिपूर्ति वितरणका लागि प्रधानमन्त्रीसँगको भेटमा ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो ।


