बुटवल । हिरोशिमा दिवस–२०२६ को अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी र सिद्धार्थनगरमा शान्ति तथा वातावरण संरक्षणसँग जोडिएका विभिन्न कार्यक्रम गरिएको छ । लुम्बिनी वर्ल्ड पिस फोरमले हिरोशिमा दिवसको पूर्व सन्ध्यामा लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा दीप प्रज्ज्वलन तथा विश्व शान्ति प्रार्थना गरेको हो । यस्तै सिद्धार्थनगरमा सहरी हरियाली प्रवर्द्धनका लागि विभिन्न जातका दुई सय बिरुवा रोपेको छ ।
लुम्बिनीमा आयोजित ‘क्यान्डल लाइट भिजिल तथा विश्व शान्ति प्रार्थना’मा जापानको हिरोशिमा र नागासाकीमा भएको परमाणु बम विस्फोटका पीडितप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । गौतम बुद्धको जन्मस्थलबाट विश्व शान्ति, अहिंसा र आणविक निशस्त्रीकरणको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फोरमले जनाएको छ ।
कार्यक्रम लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी–कपिलवस्तु विश्व अभियान (युरोप) र लुम्बिनी–कपिलवस्तु विश्व अभियान (अस्ट्रेलिया)को सहकार्यमा आयोजना गरिएको लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक अध्यक्ष बासु गौतमले जानकारी गराए। यस्तै लुम्बिनी वर्ल्ड पिस फोरमले सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा भैरहवास्थित सिद्धार्थ राजमार्गको सडक मध्यभागमा दुई सय वटा फूलका बिरुवा रोपेको छ ।
सिद्धार्थनगर नगरपालिका–७ अन्तर्गत बुद्ध चोकदेखि देवकोटा चोकसम्मको सडकको मिडियन आइसल्याण्डमा सयवटा असारे फूल र सयवटा बोगनभिल्लाका बिरुवा रोपिएका हुन् ।
सहरी क्षेत्रमा हरियाली विस्तार गर्दै सडकको सौन्दर्य बढाउने तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले वृक्षारोपण गरिएको गौतमले जनाए ।
यस्तै लुम्बिनीस्थित विश्व शान्ति स्तूप (वर्ल्ड पिस प्यागोडा) परिसरमा पनि कपुरका आठ वटा बिरुवा रोपिएका छन् । ती आठ बिरुवालाई गौतम बुद्धले प्रतिपादन गरेका आर्य अष्टाङ्गिक मार्गका आठ अंगको प्रतीकका रूपमा रोपिएको फोरमले जनाएको छ । हिरोशिमा दिवसका अवसरमा आयोजित यी कार्यक्रमले शान्ति र वातावरण संरक्षणलाई एउटै अभियानका रूपमा जोडेको गौतमले जनाए।
सोही अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष लीलामणि शर्मा पौडेल लगायतले परमाणु युद्धबाट भएको मानवीय क्षतिको स्मरण गर्दै हिंसा र युद्धको विरोध तथा शान्तिको प्रवर्द्धन र विश्व शान्तिको सन्देशसँगै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनलाई पनि शान्तिको आधारका रूपमा प्रस्तुत गरिएको जनाए ।


