कपिलवस्तु । कपिलवस्तु नगरपालिका–५ बभनीमा मध्यकालीन मुद्रासहितको करुवा फेला परेको छ ।
स्थानीय कृषक राजाराम यादवले खेतमा काम गर्ने क्रममा मुद्रासहितको तामाको करुवा फेला परेको हो । स्थानीयले प्रहरीलाई खबर गरेपछि त्यो पुरातात्विक वस्तु स्थानीय, जनप्रतिनिधि र कपिलवस्तु संग्रहालयको टोलीले संकलन गरेको थियो ।
भेटिएको तामाको करुवासहितका मुद्रा कपिलवस्तु संग्रहालयमा लगेर राखिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टले ती पुरातात्विक वस्तु आवश्यक अध्ययनका लागि संग्रहालयलाई हस्तन्तरण गरिएको जनाए ।
कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्माले ती वस्तु करिब १२/१३ औं शताब्दितिरको हुनसक्ने जनाइन् । ‘भेटिएको पुरातात्विक वस्तु करिब १२ औं/१३ औं शताब्दि(मध्यकाल)को हुनसक्ने अनुमान छ,’ उनले भनिन् । उनका अनुसार करुवाबाट तामाको मुद्रा निकाल्ने क्रम जारी छ ।
करुवाभित्र अरबी लिपिमा लेखिएका दुई हजार ३१४ वटा तामाका सिक्का रहेको उनले जनाइन् । करुवा करिब २३ सेन्टिमिटर अग्लो रहेको छ ।


