काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्र दुरुपयोग गरेर आतंक सिर्जना गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शाहीले मिडिया र प्रतिपक्षी दलका नेताका घर अगाडि अवैध रूपमा पार्किङ गराउने, त्यसको भिडियो सामाजिक सञ्जालमा फैलाउने र ‘अल्गोरिदम’ प्रयोग गरेर जनमत प्रभावित पार्ने काम भइरहेको जनाए ।
शाहीले कर्णालीमा भिरमा अड्किएका नागरिकको समयमै उद्धार हुन नसक्दा मृत्यु भएको घटनाबारे सरकारसँग जवाफ माग्दा त्यसलाई राजनीतिकरण गरिएको भन्ने आरोप लगाइएको बताए । साथै उनले राजनीतिकरण भनेको केहो भन्ने उदाहरणसहित सुनाए ।
‘आफैं सरकारमा बस्ने, आफैं आफ्ना कार्यकर्ता लगाएर सञ्चारमाध्यमका कार्यालय र प्रतिपक्षका घरअगाडि अवैध पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फैलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ,’ उनले भने ।
‘पानी बाँड्न गएको हुँ भन्ने, पोशाक लगाएका विद्यार्थीलाई ढाल बनाएर लासको सिँढी चढ्दै राज्यसत्तामा पुग्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्नु राजनीतिकरण होइन,’ उनले भने ।
शाहीले थप भने, ‘संसद भवन चाहिँदैन, संसद चाहिँदैन भन्दै आगो लगाउने, तर पछि त्यही संसदको चुनाव लड्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ । आफू पदमा नहुँदा नेताको तलब हटाउनुपर्छ, अगाडि–पछाडि टाइँटाइँ र टुइँटुइँ गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावालस्कर र प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ ।’


