काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमको लागत अनुमान तथा बोलपत्र तयारीको काम असार मसान्तभित्रै सक्ने लक्ष्य राखेको छ ।
२ असारमा बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा बसेको बैठकले बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि यस्तो निर्णय गरेको हो ।
सचिव बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आगजनीमा परेका वा क्षति भएका सवारी साधन, फर्निचर तथा यन्त्र उपकरणलाई प्रचलित कानुन बमोजिम मिनाहा वा लिलामी सम्पन्न गर्न बाँकी निकायले असार १५ भित्र सम्पन्न गरी त्यस्ता सामग्री कार्यालय परिसरबाट हटाउने व्यवस्था गराउने निर्णय गरेको छ ।
२३ र २४ भदौको प्रदर्शनका क्रममा आगजनीमा परी स्रेस्ता जलेर लेखापरीक्षण हुन नसकेको तथा लेखापरीक्षण गराउन समस्या भएका निकायले कानुन बमोजिम लेखापरीक्षक कार्यालयसँगको समन्वयमा लेखापरीक्षण गराउने निर्णय समेत सो बैठकले गरेको छ । सरकारको शासकीय सुधारका १ सय कार्यसूचीमा उल्लिखित कानुन तर्जुमा र संशोधन विधेयक अविलम्ब संघीय संसदमा दर्ता गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ ।


