सोम, असार १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

शक्ति लम्साल: एक युग नायक  

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
शक्ति लम्साल: एक युग नायक  
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सत्यजीत

परिचय: ​नेपाली प्रगतिशील साहित्यिक, सांस्कृतिक एवं राजनीतिक आन्दोलनका देदीप्यमान नक्षत्र शक्ति लम्साल (वि.सं. १९९३–२०७२) मार्क्सवादी निष्ठा, वर्गीय पक्षधरता र जनपक्षीय वैचारिक गद्यका एक अथक योद्धा हुन्। वि.सं. १९९३ असारमा जन्मिएका लम्सालले नेपाली समाजको अर्ध-सामन्ती र अर्ध-औपनिवेशिक चरित्रलाई निकै नजिकबाट अनुभूत गरे र जीवनको प्रारम्भिक कालखण्डदेखि नै आफूलाई आमूल परिवर्तनको यात्रामा समाहित गराए।माक्र्सवादी-लेनिनवादी-माओवादी दर्शनलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मानेका लम्सालले नेपालको कम्युनिस्ट आन्दोलन, पञ्चायत विरोधी सङ्घर्ष, र दश वर्ष लामो महान् जनयुद्ध हुँदै मुलुकमा गणतन्त्र स्थापनाको युगान्तकारी प्रक्रियासम्म सडक र सदन, दुवै मोर्चाबाट अविचलित रूपमा वैचारिक नेतृत्व प्रदान गरे।

​लम्साल बहुआयामिक क्षमताका धनी थिए। उनी एकातिर प्रखर समीक्षक, सिद्धान्तकार, निबन्धकार र कवि थिए भने अर्कोतिर धारिलो जनपक्षीय पत्रकार एवं जमीनसँग जोडिएका कुशल राजनीतिक सङ्गठक थिए। तत्कालीन सामन्ती राज्यसत्ताको दमन र कठोर निगरानीका बीच पनि उनले ‘रुख’, ‘गुलाब’, ‘अजय’, ‘आजाद’, ‘पथिक’ जस्ता उपनामहरूबाट भूमिगत र अर्ध-भूमिगत रूपमा सिर्जना गरिएका रचनाहरूले जनतामा विद्रोही चेतनाको सञ्चार गर्थे। ‘दैनिक निर्णय’ जस्ता प्रगतिशील पत्रिकाहरूको सम्पादन गर्दै उनले मोफसलमा बसेर जनपक्षीय पत्रकारिताको जुन मानक स्थापित गरे, त्यो आजको पुस्ताका लागिसमेत विश्वविद्यालय सरह स्मरणीय​ छ।

​नेपाली वामपन्थी सांस्कृतिक आन्दोलन र जनपक्षीय साहित्यको इतिहास एउटा जीवन्त वर्ग-सङ्घर्षको महागाथा हो, जहाँ विचार र कलमलाई हतियार बनाएर कयौँ साधकहरूले निरङ्कुशता र सामन्ती उत्पीडन विरुद्ध मोर्चाबन्दी गरे। यस ऐतिहासिक गतिको अग्रपङ्क्तिमा उभिने एउटा अविचलित, निष्ठावान् र क्रान्तिकारी नाम हो— शक्ति लम्साल। आफ्नो जीवनकालमा उनले नेपाली समाजको राजनीतिक उतारचढाव, पञ्चायती निरङ्कुशतन्त्रको दमन, र जनयुद्ध हुँदै गणतन्त्र स्थापनासम्मको युगान्तकारी परिवर्तनलाई केवल नजिकबाट नियालेनन्, बरु ती प्रत्येक परिवर्तनका मोडहरूमा वैचारिक ऊर्जा भर्ने ‘युग नायक’ को भूमिका निर्वाह गरे। मार्क्सवादी दर्शन र द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणलाई आफ्नो जीवन र सिर्जनाको मूल मियो बनाएका लम्साल नेपाली प्रगतिशील साहित्यका त्यस्ता कल्पवृक्ष हुन्, जसको छहारीमा तीन पुस्ताका लेखक र सांस्कृतिक कर्मीहरूले वैचारिक दीक्षा प्राप्त गरे।

​सामान्य अर्थमा नायकत्वको परिभाषा शक्ति र सत्ताको केन्द्र वरिपरि खोजिने गरिन्छ, तर जनपक्षीय साहित्यमा नायकत्वको कसलाई वर्गीय पक्षधरता र जनअधिकारप्रतिको निष्ठाले निर्धारण गर्दछ। लम्साल यही जनवादी कसीमा खडा उत्रिएका वास्तविक युग नायक हुन्। उनीभित्र कला र क्रान्तिको, सिद्धान्त र व्यवहारको, एवं विचार र सङ्गठनको एउटा यस्तो दुर्लभ द्वन्द्वात्मक संयोजन थियो, जसले उनलाई बन्द कोठाको चिन्तक मात्र रहन दिएन, बरु सडक र मोर्चाको अथक सिपाही बनायो। नेपाली कम्युनिस्ट आन्दोलनले व्यहोरेका अनेकौँ टुटफुट, वैचारिक विचलन, दक्षिणपन्थी विसर्जनवाद र जडसूत्रवादी जटिलाताका बीचमा पनि उनी कहिल्यै दिशाभ्रमित भएनन्। उनको यो वैचारिक स्थिरता र रूपान्तरणप्रतिको अगाध विश्वास नै उनको बहुआयामिक क्रान्तिकारी क्षमताको मूल स्रोत थियो। तसर्थ, शक्ति लम्सालको अवदानलाई बुझ्नु भनेको नेपालको आधा शताब्दी लामो जनवादी सांस्कृतिक क्रान्तिको पदचापलाई बुझ्नु हो। प्रस्तुत विश्लेषणले उनकै विधागत सामर्थ्य, प्रतिरोधी चेत, र मार्क्सवादी सौन्दर्यशास्त्रको धरातलमा उभिएर उनको युग निर्माणकारी भूमिकाको गहिरो चिरफार गर्ने प्रयत्न गरेको छु।

भूमिका: ​शक्ति लम्सालको साहित्यिक तथा सांस्कृतिक व्यक्तित्वको जग मार्क्सवादी-लेनिनवादी-माओवादी विचारधारा र द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित छ। उनका लागि साहित्य र कला निरपेक्ष वा तटस्थ विधा थिएनन्, ता की ती समाजको आर्थिक-राजनीतिक उपसंरचना (Superstructure) का अभिन्न अङ्ग र वर्गीय स्वार्थ अभिव्यक्त गर्ने माध्यम थिए। बुर्जुवा सौन्दर्यशास्त्रले कलालाई ‘कला कलाका लागि’ भन्दै रहस्यीकरण गर्ने र यसलाई समाजको वास्तविक धरातलबाट अलग्याउने जुन प्रयत्न गर्छ, लम्सालले त्यसको सधैँ कडा प्रतिवाद गरे। उनले लेनिनको ‘साहित्यिक सङ्गठन र पार्टी साहित्य’ को अवधारणा तथा माओ त्सेतुङको ‘येनान गोष्ठीका भाषणहरू’ मा व्यक्त कला-सिद्धान्तलाई नेपाली माटोको विशिष्ट सामाजिक-आर्थिक परिवेश (Concrete analysis of concrete conditions) मा ढालेर व्याख्या गरे।

​लम्सालको मार्क्सवादी सौन्दर्यचेतले के स्थापना गर्छ भने, कलाको वास्तविक सौन्दर्य त्यसको रूपवादी (Formalist) चमत्कारमा होइन, त्यसले बोक्ने वर्गीय अन्तर्वस्तु र रूपान्तरणकारी चेतनामा लुकेको हुन्छ। उनी भन्ने गर्थे कि समाजमा जबसम्म वर्गहरू अस्तित्वमा रहन्छन्, तबसम्म लेखन कहिल्यै पनि वर्ग-निरपेक्ष हुन सक्दैन। त्यसैले, उनको सौन्दर्यशास्त्रको केन्द्रमा नेपालका उत्पीडित, भूमिहीन किसान, श्रमजीवी मजदुर र सीमान्तकृत जनसमुदाय (Subaltern/Proletariat) रहे। उनले साहित्यलाई शोषक वर्गको मनोरञ्जनको साधन हुनबाट जोगाएर शोषित वर्गको मुक्तिको वैचारिक हतियारमा परिणत गर्नुपर्ने आवश्यकतामा जोड दिए। यही वर्गीय पक्षधरताका कारण उनको सौन्दर्यशास्त्र संकीर्ण वा जड भएन, बरु त्यो निरन्तर गतिशील र जीवन्त रह्यो।

​ऐतिहासिक रूपमा हेर्दा, नेपाली कम्युनिस्ट आन्दोलन र सांस्कृतिक मोर्चामा कयौँ प्रखर बौद्धिकहरू आए, तर समयको विचलन र सत्ताको प्रलोभनमा परेर कतिपयले आफ्नो वैचारिक निष्ठालाई तिलान्जली दिए। संशोधनवाद र दक्षिणपन्थी विसर्जनवादको चंगुलमा परेर धेरैको क्रान्तिकारी धार भुत्ते भयो। तर शक्ति लम्साल यो प्रवृत्ति विरुद्ध एउटा बलियो खम्बाका रूपमा उभिए। उनको क्रान्तिकारी क्षमताको बेजोड नमुना नै यही हो कि उनी पद, प्रतिष्ठा वा राजकीय सुविधाका लागि कहिल्यै सम्झौतावादी बनेनन्। सर्वहारा वर्गप्रतिको उनको निष्ठा कति प्रगाढ र चट्टानी थियो भन्ने कुरा उनको जीवनको उत्तरार्धसम्मको लेखन र राजनीतिक सक्रियताले पुष्टि गर्छ। उनी संसद्‌वादी अलमल्यावट र क्रान्तिकारी रोमान्सवाद दुवैको विपक्षमा थिए; उनले सधैँ जनताको वास्तविक मुक्ति र आमूल सामाजिक रूपान्तरण (Social transformation) को वकालत गरिरहे।
​लम्सालले मार्क्सवादी सौन्दर्यशास्त्रको व्याख्या गर्दा नेपाली प्रगतिशील आन्दोलनभित्र देखा पर्ने जडसूत्रवाद (Dogmatism) को पनि आलोचना गरे। उनका अनुसार, नाराबाजी मात्रै उत्कृष्ट कला होइन; कलात्मक उच्चता र क्रान्तिकारी विचारको द्वन्द्वात्मक एकता (Unity of political content and artistic form) नै जनपक्षीय साहित्यको वास्तविक कसि हो। विचार जतिसुकै क्रान्तिकारी भए पनि यदि त्यसलाई प्रभावकारी, सरल र सम्प्रेष्य भाषामा प्रस्तुत गर्न सकिएन भने त्यसले जनताको मन र मस्तिष्कलाई आन्दोलित गर्न सक्दैन भन्ने यथार्थ उनले राम्ररी बुझेका थिए। त्यसैले, उनको व्याख्या र विश्लेषणमा एकातिर सिद्धान्तको गहिराई हुन्थ्यो भने अर्कोतिर नेपाली समाजको यथार्थपरक चित्रण हुन्थ्यो। विचार र व्यवहारको यही बेजोड एकरूपताले गर्दा नै शक्ति लम्साल नेपाली मार्क्सवादी समीक्षा र सांस्कृतिक चिन्तनको क्षेत्रमा एउटा सग्लो र अजम्बरी आदर्शका रूपमा स्थापित हुन सफल भए।

धारिलो वैचारिक गद्य र जनपक्षीय पत्रकारिता: ​शक्ति लम्सालको क्रान्तिकारी क्षमताको सबैभन्दा शक्तिशाली र व्यावहारिक हतियार उनको वैचारिक गद्य लेखन र जनपक्षीय पत्रकारिता हो। मार्क्सवादी चिन्तनमा विचारलाई जनताको चेतनासम्म पुर्‍याउने सबैभन्दा द्रुत र प्रभावकारी माध्यम गद्यलाई मानिन्छ, र लम्सालले यस माध्यमको मर्मलाई गहिरोसँग आत्मसात् गरेका थिए। पञ्चायती निरङ्कुशताको कालखण्डदेखि नै उनले आफ्नो कलमलाई जनविरोधी सत्ताका विरुद्ध एउटा भरपर्दो मोर्चाका रूपमा स्थापित गरे। उनका लागि पत्रकारिता व्यापार वा निरपेक्ष सूचनाको सङ्गालो मात्र थिएन, यद्यपि त्यो जनचेतना जागृत गर्ने र वर्गीय सङ्घर्षलाई गुणात्मक उचाइ दिने एउटा राजनीतिक र सांस्कृतिक कडी थियो।

​लम्सालको गद्यको विशिष्टता उसको धारिलोपन, स्पष्टता र सम्प्रेषणीयतामा थियो। उनले ‘दैनिक निर्णय’ जस्ता जनपक्षीय पत्रिकाहरूको नेतृत्व र सम्पादन गर्दै मोफसल (काठमाडौँ बाहिरको क्षेत्र) बाटै क्रान्तिकारी विचारको बीजारोपण गरे। तत्कालीन समयमा राज्य नियन्त्रित मिडिया र पूँजीवादी सञ्चारमाध्यमहरूले सम्भ्रान्त वर्गको स्वार्थको रक्षा गरिरहँदा, लम्सालको पत्रकारिताले गाउँ-गाउँका गरिब किसान, सुकुम्बासी र उत्पीडित श्रमजीवी जनताका कथा, व्यथा र उनीहरूको प्रतिरोधी आवाजलाई मूलधारमा ल्याइदियो। उनको वैचारिक गद्यमा कुनै किसिमको अस्पष्टता वा अलङ्कारिक भ्रम हुँदैनथ्यो; उनी सिधै समस्याको वर्ग-चरित्र (Class character) उघारी दिन्थे र पाठकलाई सामाजिक रूपान्तरणको दिशामा सोच्न बाध्य पार्थे।

​वैचारिक रूपमा हेर्दा, उनको पत्रकारिता बुर्जुवा पत्रकारिताको तथाकथित ‘तटस्थता’ को मुकुण्डो उतार्ने क्रान्तिकारी हतियार थियो। मार्क्सवादी दर्शनले भन्छ— वर्ग-विभाजित समाजमा कोही पनि तटस्थ हुन सक्दैन। लम्सालले घोषित रूपमै शोषित वर्गको पक्षपोषण गरे। उनका राजनीतिक र सांस्कृतिक निबन्धहरूमा शोषक वर्गको सत्ता, संस्कृति र चिन्तनको निर्मम शल्यक्रिया गरिएको पाइन्छ। उनले राजनीतिक व्यवस्था परिवर्तनका लागि मात्र लेखेनन्, बरु जनताको चिन्तन प्रणाली र सांस्कृतिक आचरणमा समेत जनवादी रूपान्तरण ल्याउनुपर्ने आवश्यकतालाई आफ्नो लेखनमार्फत प्रष्ट पारे।

​यसका साथै, लम्सालको गद्य लेखनमा जटिल दार्शनिक प्रस्थापनाहरूलाई पनि सरल, सुबोध्य र सर्वसाधारणले बुझ्न सक्ने भाषामा प्रस्तुत गर्ने अभूतपूर्व क्षमता थियो। सिद्धान्तलाई जनस्तरसम्म लैजाने यो कला नै उनको गद्यको सबैभन्दा बलियो क्रान्तिकारी पक्ष हो। उनी संस्मरण लेखुन् वा राजनीतिक समीक्षा, त्यहाँ सधैँ एउटा क्रान्तिकारी दृष्टिकोण र रूपान्तरणको ऊर्जा सञ्चारित भइरहेको हुन्थ्यो। विचार र जनसञ्चारको यो बेजोड फ्युजनले गर्दा नै उनी नेपाली जनपक्षीय पत्रकारिता र वैचारिक गद्यका एक अविस्मरणीय स्तम्भ बन्न सफल भए।

​प्रतिरोधी चेत र जनवादी लेखन: ​शक्ति लम्सालको सिर्जनात्मक संसारको मूल कसि ‘प्रतिरोधी चेत’ (Resistance) हो। उनको जनवादी लेखन यथास्थितिवादी सत्ता, सामन्ती मूल्यमान्यता र सांस्कृतिक उत्पीडनका विरुद्धको एउटा अनवरत युद्धघोष थियो। साहित्यका कविता, निबन्ध, समीक्षा र संस्मरण जस्ता विधामा फैलिएको उनको लेखनले सधैँ सत्ताको प्रतिपक्षमा उभिएर भुइँमान्छेहरूको अधिकारको वकालत गर्‍यो। निरङ्कुश व्यवस्थाले नागरिकका ओठहरू सिएका बेला र वैचारिक स्वतन्त्रतामाथि कडा प्रतिबन्ध लगाएका काला दिनहरूमा पनि लम्सालको प्रतिरोधी लेखनले आन्दोलनलाई वैचारिक खुराक दिने काम गरिरह्यो।

​उनको प्रतिरोधी क्षमताको एउटा रोचक र क्रान्तिकारी पक्ष उनको लेखनमा देखिने ‘छद्मनाम’ हरूको प्रयोग हो। तत्कालीन भूमिगत तथा अर्ध-भूमिगत कम्युनिस्ट आन्दोलनको कठीन परिस्थितिमा राज्यको दमन र सैन्य निगरानीबाट जोगिन उनले रुख, गुलाब, अजय, आजाद, पथिक जस्ता अनेकौँ उपनामहरूबाट साहित्य र वैचारिक लेखहरू सिर्जना गरे। यी नामहरू केवल सुरक्षाका उपाय मात्र थिएनन्, बरु ती आफैँमा प्रतिरोधी चेतनाका प्रतीक थिए। ‘आजाद’ नामले स्वतन्त्रताको तिर्खा मेट्थ्यो भने ‘अजय’ ले क्रान्तिको अपराजित यात्रालाई सङ्केत गर्थ्यो। यी छद्मनामहरूका पछाडि लुकेको उनको क्रान्तिकारी मष्तिष्कले तत्कालीन सत्ताको जग हल्लाउने सामर्थ्य राख्थ्यो।

​लम्सालको जनवादी लेखनले नेपाली समाजको आन्तरिक औपनिवेशिक र सामन्ती चरित्रको उजागर गर्छ। उनका कविता र फुटकर रचनाहरूमा ग्रामीण जीवनका वास्तविक पीडा, जमिनदारहरूको अत्याचार र त्यसका विरुद्ध सङ्गठित हुँदै गरेका किसानहरूको विद्रोही चेतना प्रतिविम्बित हुन्थ्यो। उनी साहित्यमा निराशा, पलायन वा अमूर्त रोदनको कडा विरोधी थिए। उनको लेखनले सधैँ ‘ध्वंसपछि निर्माण’ को आशामुखी र क्रान्तिकारी दृष्टिकोण (Revolutionary Optimism) अगाडि सार्‍थ्यो। परिस्थिति जतिसुकै प्रतिकुल भए पनि जनताको सङ्गठित शक्तिले अन्ततः विजय प्राप्त गर्छ भन्ने दृढ विश्वास उनको साहित्यको प्राणतत्व थियो।

​जनशास्त्रीय विश्लेषण गर्दा, उनको जनवादी लेखनले बुर्जुवा वर्गको सांस्कृतिक प्रभुत्व (Cultural Hegemony) लाई भत्काउने प्रयास गरेको देखिन्छ। एन्टोनियो ग्राम्सीले भने झैँ, सत्ताले केवल बन्दुकको भरमा मात्र होइन, वैचारिक र सांस्कृतिक संस्थाहरूमार्फत जनताको दिमागमाथि राज गर्छ। लम्सालले आफ्नो प्रतिरोधी लेखनमार्फत सामन्ती र दलाल पूँजीवादी संस्कृतिले निर्माण गरेका भ्रमहरूलाई चिर्ने काम गरे। उनले श्रमको सम्मान गर्ने, लैङ्गिक र जातीय विभेदको विरोध गर्ने र एउटा समतामूलक, समाजवादी समाजको सपना देख्ने जनवादी संस्कृतिको वकालत गरे। विचार र कलात्मक प्रतिरोधी चेतको यही जीवन्त संयोजनले गर्दा नै शक्ति लम्सालको लेखन नेपाली प्रगतिशील साहित्यको इतिहासमा प्रतिरोधी चेतनाको एउटा बलियो घोषणापत्र बन्न पुगेको हो।

कुशल सङ्गठक र नेतृत्वदायी भूमिका: ​शक्ति लम्सालको क्रान्तिकारी व्यक्तित्वको एउटा विशिष्ट र अपरिहार्य पाटो उनको कुशल साङ्गठनिक क्षमता र सांस्कृतिक मोर्चामा खेलेको नेतृत्वदायी भूमिका हो। मार्क्सवादी दर्शनले विचारलाई केवल बुझ्नका लागि मात्र होइन, बरु संसार बदल्नका लागि प्रयोग गरिनुपर्छ भन्ने मान्यता राख्छ। कार्ल मार्क्सको यही प्रस्थापनालाई आत्मसात् गर्दै लम्सालले सिद्धान्तलाई बन्द कोठाको प्राज्ञिक वहसमा मात्र सीमित राखेनन्, बरु त्यसलाई सडक, बस्ती र संगठनको जीवन्त शक्तिमा रूपान्तरित गरे। उनी नेपाली प्रगतिवादी सांस्कृतिक आन्दोलनका ती विरलै पाइने नेताहरूमध्ये पर्छन्, जसमा उच्च बौद्धिक चेत र तल्लो तहसम्म पुगेर सङ्गठन निर्माण गर्न सक्ने अद्भुत व्यावहारिक क्षमताको फ्युजन थियो।
​लम्सालको साङ्गठनिक यात्राको सबैभन्दा बलियो जग प्रगतिशील लेखक सङ्घ (प्रलेस) र अखिल नेपाल जनसांस्कृतिक सङ्घ हुन्। उनले प्रलेसको केन्द्रीय उपाध्यक्ष, सल्लाहकार तथा जनसांस्कृतिक सङ्घको केन्द्रीय संयोजकको गहन जिम्मेवारी सम्हाल्दै नेपाली लेखक र कलाकारहरूलाई उपभोक्तावादी र सामन्ती चिन्तनको दलदलबाट बाहिर निकालेर जनअधिकारको मोर्चामा उभ्याए। तत्कालीन समयमा वामपन्थी आन्दोलनभित्र देखा पर्ने फुट, गुटबन्दी र विसर्जनवादी प्रवृत्तिले सांस्कृतिक मोर्चालाई पनि शिथिल बनाउने खतरा रहन्थ्यो। त्यस्तो सङ्कटपूर्ण घडीमा लम्सालले आफ्नो समन्वयकारी भूमिका, वैचारिक स्पष्टता र अभिभावकीय व्यक्तित्वद्वारा सङ्गठनलाई फुट्नबाट जोगाए र क्रान्तिकारी दिशामा अगाडि बढाए।

​जनशास्त्रीय कोणबाट विश्लेषण गर्दा, लम्सालको साङ्गठनिक कौशल एन्टोनियो ग्राम्सीको ‘अर्गानिक इन्टेलेक्चुअल’ (Organic Intellectual) अर्थात् जैविक बुद्धिजीवीको अवधारणासँग पूर्ण रूपमा मेल खान्छ। ग्राम्सीका अनुसार जैविक बुद्धिजीवीहरू शासक वर्गले निर्माण गरेको सांस्कृतिक प्रभुत्व (Hegemony) लाई चुनौती दिन सिधै उत्पीडित वर्गसँग एकाकार हुन्छन् र उनीहरूकै सङ्गठित शक्ति निर्माण गर्छन्। लम्सालले पनि काठमाडौँको सुकुमार र सुविधायुक्त बौद्धिक विलासितालाई त्यागेर मोफसल र ग्रामीण क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाए। उनले नयाँ पुस्ताका प्रतिभाहरूलाई पहिचान गर्ने, उनीहरूलाई मार्क्सवादी सौन्दर्यशास्त्र र वर्गीय चेतनाले दीक्षित गर्ने र क्रान्तिको कठिन यात्रामा हिँड्न उत्प्रेरित गर्ने काम गरे। उनको साङ्गठनिक छहारीमा हुर्किएका कयौँ स्रष्टाहरू आज पनि नेपाली साहित्यको प्रगतिशील धारलाई नेतृत्व गरिरहेका छन्।
​यसका साथै, लम्सालको नेतृत्वदायी भूमिकाको अर्को पाटो राजनीतिक आन्दोलन र सांस्कृतिक मोर्चाबीचको द्वन्द्वात्मक सम्बन्धको सही सन्तुलन मिलाउनु थियो। उनी सांस्कृतिक मोर्चालाई पार्टीको अन्ध-अनुकरण गर्ने एउटा यान्त्रिक अङ्ग बनाउने पक्षमा थिएनन्, न त राजनीतिबाट अलग भएर स्वच्छन्द बन्ने बुर्जुवा प्रवृत्तिको पक्षमा नै थिए। उनले कलाको विशिष्टता र स्वायत्ततालाई कायम राख्दै त्यसलाई राजनीतिक क्रान्तिको सहायक र मार्गदर्शक शक्तिका रूपमा कसरी लैजानुपर्छ भन्ने कुरा आफ्नो व्यवहारबाट प्रमाणित गरेर देखाए।

​उनी मञ्चमा उभिएर क्रान्तिकारी भाषण गर्न जति अब्बल थिए, भूमिगत सङ्गठनका कठीन योजनाहरू बुन्न र तिनलाई कार्यान्वयन गराउन उति नै सक्रिय रहन्थे। पञ्चायती व्यवस्थाको चरम दमनको समयमा होस् या जनयुद्धको जटिल मोडहरूमा, उनले सांस्कृतिक मोर्चालाई उत्पीडित जनताको आशाको केन्द्र बनाइराखे। विचारलाई सङ्गठनमा र सङ्गठनलाई आन्दोलनमा बदल्ने यही बेजोड साङ्गठनिक निष्ठा र कमान्डिङ क्षमताकै कारण शक्ति लम्साल नेपाली जनपक्षीय साहित्यिक-सांस्कृतिक आन्दोलनको इतिहासमा सधैँ आदरका साथ स्मरण गरिने एक कुशल र ऐतिहासिक युग नायक बन्न सफल भए।

स्रोतग्रन्थ:
​१. ​सिग्देल, कमला (२०७१). अथक साधक शक्ति लम्साल. काठमाडौँ: पैरवी प्रकाशन। ​
​२. ​अखिल नेपाल जनसांस्कृतिक महासङ्घ (२०७३). स्मृतिमा शक्ति लम्साल. काठमाडौँ: केन्द्रीय कार्यालय। ​
​३. ​चापागाईं, निनु (२०६५). माक्र्सवादी सौन्दर्यशास्त्र र नेपाली साहित्य. काठमाडौँ: प्रगतिशील लेखक सङ्घ (प्रलेस)। ​
​४. ​गौतम, प्रदीप (२०७५). नेपालमा जनपक्षीय पत्रकारिता: इतिहास र प्रवृत्ति. बुटवल: लुम्बिनी पैरवी केन्द्र। ​
​५. ​प्रगतिशील लेखक सङ्घ (प्रलेस) नेपाल (२०७८). प्रलेस इतिहास र दस्तावेज (भाग २)

यो पनि पढ्नुहोस्

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नजिता ल्याउने १६० विद्यार्थीलाई सम्मान

२ घण्टा अगाडि
११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा हाथु  द्यःकाे आगमन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

युरोपमा तातो लहरबाट १ हजार ३०० जनाको मृत्यु

११ स्वर्ण जित्दै आर्मी बन्यो राष्ट्रिय बक्सिङको च्याम्पियन

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

कृषिमा आधुनिकीकरण आवश्यक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक