काठमाडौं । पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।
काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा उमेश दाहालले जनाए। उनका अनुसार तीन महिना अघि सुरु भएको सङ्क्रमण विभिन्न ११ जिल्लामा फैलिएको छ ।
बर्डफ्लुका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा सङ्क्रामक हुने र कुखुरालगायत पन्छी नष्ट उत्तम विकल्प हुने जनाइएको छ । सङ्क्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले सङ्क्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गरे ।
विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्डफ्लु समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा बर्डफ्लु समन्वय समिति गठन गरिएको छ । नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्लाबाट समितिले निर्धारण गर्ने दररेटका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी गराए ।


