काठमाडौं । साउदी अरबले नेपाल सरकारसँग समन्वय नगरी एकतर्फी रुपमा श्रमिकलाई आर्थिक भार पर्ने गरी सामान्य पेसामा पनि सीप परीक्षण गर्ने भएको छ । भोलि बुधबारदेखि नै सीप परीक्षण नभएका श्रमिक साउदी अरब जान पाउने छैन् । साउदी नेपाली श्रमिकको प्रमुख गन्तव्य हो ।
गत माघ ११ मा नेपाल र साउदीबीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्रविधिक कार्य समितिले तय गर्ने उल्लेख छ । तर, सीप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदीबीच द्विपक्षीय सहमति भएको छैन ।
श्रम मन्त्रालयका एक अधिकारीले सीप परीक्षण गर्ने विषयमा औपचारिक छलफल तथा सहमति नभएको बताए । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सीप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । व्यावसायिक मान्यता दिनका लागि सीप प्रमाणीकरण गर्न लागेको साउदीको भनाइ छ ।
वैदेशिक रोजगार व्यवसायी संघले श्रमिकहरूको हित र वैदेशिक रोजगार प्रक्रियालाई ध्यानमा राखी यथासक्य छिटो साउदीसँग कूटनीतिक पहल गर्न श्रममन्त्रीलाई आग्रह गरेको छ ।सामान लोड/अनलोड गर्ने, भरिया, ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकका लागि अब सीप परीक्षण गर्नुपर्छ । निर्माण क्षेत्रमा के काम गर्ने श्रमिकका बारेमा भने खुलाइएको छैन ।
काठमाडौंस्थित साउदी दूतावासको सूचनापाटीमा समेत यसबारे सूचना टाँस गरिएको छ । यी सीप प्रमाणीकरण गर्नका लागि साउदीले निश्चित तालिम परीक्षण केन्द्रलाई जिम्मेवारी दिएको छ । नेपालमा सीप प्रमाणीकरण गर्ने जिम्मेवारी पाएको तालिम परीक्षण केन्द्रको नाम भने सार्वजनिक गरिएको छैन । सीप परीक्षणका लागि श्रमिकले पहिला नै साउदीको ‘व्यावसायिक प्रमाणीकरण पोर्टल’मा अनलाइन दर्ता गर्नुपर्छ । दर्ता गरेपछि मात्रै भिसा वा मास्टर कार्डमार्फत डलरमा शुल्क भुक्तानी गर्नुपर्छ ।
आवेदकले कार्यक्रमअन्तर्गत उपलब्ध पेसाहरूबाट आफ्नो पेसा छनोट गर्नुपर्छ । उसले स्वीकृत परीक्षा केन्द्र छनोट र उपलब्ध परीक्षाको मिति चयन गर्नुपर्नेछ । परीक्षण ३ घण्टाको हुनेछ । यसको नतिजा आउन २४ घण्टादेखि एक साताभित्र आउनेछ ।
सूचनाअनुसार सीप परिक्षणका लागि श्रमिकलाई तीन पटकसम्म मौका दिइनेछ । यसमा अनुत्तीर्ण भएमा श्रमिक साउदी जान पाउनेछैनन् । साउदीले यो कार्यक्रम सबै स्रोत देशमा लागू गरेको जनाएको छ ।


