काठमाडौं । गत चैतमा मोरङबाट फैलिएको बर्डफ्लु(एच-फाइभ एन-वान) पछिल्लो समय काठमाडौं उपत्यकामा फैलिएको छ ।
पशु सेवा विभागका अनुसार चैत ४ गते मोरङको सुन्दरहरैचा-४ र उर्लाबारी-८ बाट फैलिएको बर्डफ्लु १० जिल्लाका ५५ फार्ममा देखिएको छ । विभागका महानिर्देशक डा. उमेश दाहालले पछिल्लो समय अन्य जिल्लामा अहिले नियन्त्रणमै रहे पनि काठमाडौं उपत्यकामा संक्रमण देखिएको जानकारी गराए ।
उनका अनुसार उपत्यकाका कीर्तिपुर, गोकर्णेश्वर, तारकेश्वर, गोदावरी, सूर्यविनायक र भक्तपुर नगरपालिकामा रहेका फार्ममा बर्डफ्लु देखिएको हो । महानिर्देशक डा. दाहालले काठमाडौंमा लोकल र लेयर्स प्रजातिका कुखुरामा संक्रमण देखिएको जानकारी गराए ।
‘जैविक सुरक्षा नअपानाइएका र अव्यवस्थित फार्ममा बर्डफ्लु देखिएको छ । कतिपय ठाउँमा जंगलको छेउछाउमा रहेका फार्महरूमा पनि संक्रमण देखिएको छ,’ उनले भने । गत चैतमा कीर्तिपुर र टौदह क्षेत्रमा मरेका कागमा बर्डफ्लु पुष्टि भएको थियो ।
काठमाडौं, भक्तपुर र ललितपुरका १३ वटा फार्म बर्डफ्लुबाट प्रभावित भएका छन् । काठमाडौंका ८ फार्ममा ३९ हजार ४ सय ८१ कुखुरा नष्ट गरिएको छ । त्यस्तै काठमाडौंमा ६३ हजार ८ सय ५४ अण्डा र २१ हजार ५ सय किलो दाना नष्ट गरिएको छ । त्यस्तै भक्तपुरका २ वटा फार्मका ४ सय १७ कुखुरा नष्ट गरिएको छ ।
ललितपुरका ३ वटा फार्मका ९ हजार ७ सय ३० कुखुरा, ३ हजार १ सय ५० गोटा अण्डा र ३ हजार ७ सय किलो दाना नष्ट गरिएको छ ।


