काठमाडौं । राप्रपाकी सांसद सरस्वती लामाले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधि सभाको बैठकमा आज पार्टीको तर्फबाट बोल्दै उनले आज महँगीले जनताको ढाड सेकेको जनाइन्।
उनले कालोबजारी रोकेर जनतालाई आर्थिक राहतको प्याकेज दिनु पर्दैन? भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘आज जनताले भनिरहेका छन्, रास्वपा सरकार बनायो, हामीले के पायौँ? सरकारको उपस्थिति जनताको दैनिकी जीवनमा अनुभूत हुनुपर्दछ, तर आज जनताले सरकारलाई अनुभूति गर्न सकेका छैनन्। महँगी नियन्त्रणमा सरकार कहाँ छ? मूल्य वृद्धि नियन्त्रणमा सरकारको हस्तक्षेप किन देखिँदैन? दुई तिहाइको शक्तिशाली सरकार हुँदा पनि जनताको पीडा किन सम्बोधन हुन सकेको छैन? जनताको आम्दानी जस्ताको तस्तै छ, तर खर्च भने धेरै छ। एक सामान्य मान्छे कसरी बाँचिरहेको होला? यता सरकारको ध्यान खोइ?’
उनले बजार अनुगमन कडाइका साथ गर्न, कालोबजारी, कृत्रिम अभाव र अस्वाभाविक मूल्य वृद्धिमाथि कठोर कारबाही गर्न, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको करमा पुनरावलोकन गर्न, जनतालाई प्रत्यक्ष राहत दिन कर संरचनामा सुधार गर्न, कृषि उत्पादन र आपूर्ति शृङ्खला सुदृढ गर्नको लागि माग गरिन्।


